काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्ने बताएका छन् । उनले आइतबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
विश्वविद्यालय अनुदान आयोगले क्यालेन्डर बनाउन प्रारम्भिक काम सुरु गरेको छ । उक्त क्यालेन्डर आगामी भदौदेखि लागू गर्ने तयारी छ ।
‘विश्वविद्यालयका शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा लागू हुन नसक्दा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशन सम्बन्धी कार्य निर्धारित समयमा नभई विद्यार्थीको भविष्यमा धक्का लागेको छ, अभिभावकमा आफ्ना सन्ततिको भविष्यप्रति चिन्ताबोध हुने गरेको छ,’ दाहालले थपे, ‘विश्वविद्यालयमा निश्चित संख्यामा विद्यार्थी भर्ना भएपश्चात परीक्षा कहिले हुने र परीक्षाफल कहिले प्रकाशन गर्ने भन्ने तालिका निश्चित हुनुपर्दछ । सरकारले उच्च शिक्षा र विश्वविद्यालयका लागि ठोस समयतालिकासहितको क्यालेन्डर बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने कार्यको गृहकार्य थालिसकेको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-