काठमाडौ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका छन्।
जेठ १४ गते राति अनाधिकृत व्यक्तिले करका दर हेरफेर गरेको समाचारको खण्डन मन्त्री शर्माले सदनमार्फत गरेका हुन्। उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए।
उनले संसदमा बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको दाबी गरे।
शर्माले भने, ‘बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ। त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु । र, मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिवज्यूहरुको नेतृत्वमा राजस्व सचिवको नेतृत्वमा राजस्व सम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थ सम्बन्धि तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु।’
प्रतिक्रिया लेख्नुहोस्:-