काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए ।
“नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ”, उनले भने, “मठमन्दिर र मूर्तिकलामा होस् या चित्रकला, पौभाचित्र ९थान्का० सबैतिर योगको प्रभाव देखिन्छ । ढुङ्गेधारा, कुवा–इनार र राजकुलोको निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ । त्यसैले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो ।”
प्रतिक्रिया लेख्नुहोस्:-