फिफा विश्वकप २०१८ को समूह एफको आज भएको स्विडेन र जर्मनीबीचको खेलमा २-१ गोलले जर्मनी बिजयी भएको छ। गत २०१४ को विश्वकप बिजेता जर्मनी समूह चरणबाटै बाहिरिने खतराका बीच खेलिरहेको थियो र पहिलो हाफमा १-० गोलले पछाडि परेको जर्मनीले दोश्रो हाफको शुरु मै गोल गर्यो र स्विडेनसंग बराबरी गय्रो। हाफटाइम अगाडिसम्म कमेन्टेटरहरुले समेत जर्मनीको संभावित बहिर्गमनका बारेमा प्रतिक्रिया राख्न थालिसकेका थिए। खेलमा टिकिरहन स्विडेनसंग जीत वा बराबरीको नतिजा जरुरी भएका बेला जर्सी नं ९ का म्याक्रो रिउसले ४८ औं मिनेटमा गरेको गोलले जर्मनीका खेलाडीहरुलाई मात्र नभएर जर्मन समर्थकहरुको समेत निकै उर्जा थपेको देखिन्थ्यो। खेल बराबरी मै टुंगिने दिशातिर अगाडि बढिरहेको बेला ८२ औं मिनेटमा जेरोमी बोटेंगले दोहोरो पहेंलो कार्ड (रेड कार्ड) पाएर मैदान छोड्न बाध्य भए पछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। सायद जर्मनीको भाग्य बलियो नै थियो र ‘स्टपेज-टाइम’ ५ को अन्तिम सेकेण्ड तिर (९०+५ मिनेट) जर्मनीका टोनी क्रुसले सुन्दर फ्रि-किक गोल गरेर जर्मनीलाई अप्रत्याशित जीत दिलाएनन् मात्र, जर्मनीको दोश्रो चरण यात्राको संभावना समेत कायम राख्न सहयोगी भएका छन् ।यदि जर्मनीले आज हारेको भए फुटबलप्रेमीहरुका लागि सुखद समाचार पक्कै हुने थिएन।
विश्वकपमा जर्मनीको सहभागिता पहिलो विश्वकप (१९३०) मा क्लालिफाई हुन नसकेर र दोश्रो विश्वयुद्ध पछि र १९५० मा सहभागी हुन प्रतिबन्ध लगाइएकोले बाहेक बाँकी १९ वटै विश्वकपमा सहभागिता जनाएको जर्मनी १९३८ मा पहिलो चरणबाटै बाहिरिएको थियो भने १९७८ मा मात्र ग्रुप स्टेजबाटै बाहिरिएको थियो। जर्मनीले आजको खेल हारेको भए विश्वकप इतिहासमा उसका लागि ४० बर्षपछि समूह चरणबाटै बाहिरिएको घटना दोहरिने थियो।
जर्मनीको दोश्रो चरण यात्रा अझै अनिश्चित
जर्मनीको दोश्रो चरणको यात्रा दक्षिण कोरियासंग उसको खेलमा मात्र निर्भर नहुने देखिएको छ। मेक्सिको र स्विडेनबीचको खेलको नतिजामा समेत भर पर्ने देखिएको छ। समूह चरणबाट बाहिरिनबाट जोगिन जर्मनीलाई आजको म्याच जित्ने वा बराबरी खेल्न पर्ने बाध्यता थियो। अब जर्मनीको दोश्रो चरणको यात्रा निश्चित हुन दक्षिण कोरियासंग हुने खेलमा फराकिलो गोल अन्तरको जीत जरुरी हुनुका साथै स्विडेन- मेक्सिकोबीचको खेलमा स्विडेन हार्नु पर्ने छ। यदि स्विडेनले मेक्सिकोलाई धेरै गोल अन्तरले पराजित गरेको खण्डमा जर्मनीले दक्षिण कोरियालाई जितेर मात्र पुग्दैन,राम्रो गोल अन्तर पनि हुनै पर्छ। नत्र गोल अन्तरका आधारमा स्विडेनको दोश्रो चरण जाने बाटो खुल्ने छ। समूह चरणको पहिलो खेलमा मेक्सिकोसंग पराजित भएपछि निकै दबावमा परेको जर्मनीले २०१४ को खेल कौशल देखाउन नसकेको विश्लेषण फुटबल पारखीहरुले गर्न थालेका छन्।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-