अमेरिका, जुन २९,२०१८
अमेरिकी सरकारको विदेश मन्त्रालय (डिपार्टमेण्ट अफ स्टेट) ले हरेक बर्ष प्रदान गर्ने ‘मानव बेचबिखन प्रतिवेदन (Trafficking-in-Person-TIP Report) हिरो’ बाट यस बर्ष नेपाली चेली सुनिता दनुवार पनि सम्मानित भएकी छिन्। हिजो अमेरिकी विदेश मन्त्रालयमा भएको एक समारोहमा दनुवार सहित अन्य नौ जना ‘टिआइपी रिपोर्ट हिरो’हरु सम्मानित भएका हुन्।
सन् १९७७ मा नेपालको पश्चिमी पहाडी जिल्ला दैलेखमा जन्मेकी सुनिता दनुवार कामको खोजीमा परिवारका साथ भारतको नैनीताल गएको बेला स्थानीय ट्रयाक्टर ड्राइभरहरुले १९९२ भारतीय वेश्यालयमा बेचिएकी थिइन्। सन् १९९६ को फेब्रुअरी ५ मा मुम्बईमा भएको बृहत खान-तलासी र वेश्यालयमा हुने गरेको मानव बेचबिखन बिरुद्दको धरपकडका बेला उद्दारमा पर्नु अघि सम्म करीब चार बर्ष वेश्यालयमा जबर्जस्ती यौन शोषणमा परेकी चेली हुन् सुनिता। उनै सुनिताले १९९६ मा नेपाल फर्कने बित्तिकै आफूसंगै फर्किएका अन्य बेचिएका चेलीहरुको सहयोगमा ‘शक्ति समूह’ नामको गैरसरकारी संस्था शुरु गरेकी हुन्। बेचबिखनमा परेका गरीब र असहाय चेलीहरुका लागि आश्रयस्थल दिने र चेलीबेटी बेचबिखन बिरुद्द जनचेतना जगाउने उद्देश्यले गठन भएको शक्ति समूह अहिले मानव बेचबिखनका बिरुद्द काम गर्ने एउटा प्रमुख गैरसरकारी संस्था भएको छ नेपालमा।
बिसौं हजार गरीब, असहाय र ग्रामिण भेगका बेचबिखनमा परेका चेलीहरुलाई परामर्श, जीवनपयोगी सीप सिकाउने, कानूनी उपचार सहयोग, उद्धार सहयोग लगाएत जनतेतनाका कामहरु संचालनको नेतृत्व गरेकी सुनिता दनुवारले गरेको कामलाई अमेरिकी सरकारको विदेश मामिला मन्त्रालयले उच्च मूल्याँकन गर्दै सन् २०१८ का लागि ‘टिआइपी रिपोर्ट हिरो’ अर्थात ‘मानव बेचबिखन बिरुद्धको उत्कृष्ट कामका लागि नेतृत्व सम्मान ’द्वारा सम्मान गरेको हो। हिजो एक समारोहकाबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र मानव बेचबखनका बिरुद्द विश्वव्यापी अभियानमा संलग्न हुँदै आएकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्का ट्रम्पले संयुक्तरुपमा दनुवारलाई सम्मानित गरेका थिए।
सम्मानित भएपछि दनुवारले आफ्नो फेसबुकमा खुसी व्यक्त गर्दै लेखेकी छिन्- “मलाई धेरै खुशी लागेको छ आज अमेरीकी सरकारबाट सम्मान हुने आबसर मिल्यो । मैले गरेको २२ वर्ष देखीको संर्घषको प्रतिफल हो भन्ने लाग्छ तर यो मेरो मात्र संर्घष होईन हामी सम्पूर्ण बेचबिखन प्रभाबितहरुको संर्घषको सफलता हो । कुनै दिन रगतको आँशु पिएर बस्न बाध्य थियौं तर हार खाएको थिएनौं, त्यसैले त आज विश्वले चिनेको छ । हाम्रो यो मानब बेचबिखन बिरुद्धको अभियानमा साथ दिनु हुने मेरो परिवार, शक्ति समुहका संस्थापक साथीहरु ,सम्पूर्ण प्रभावितहरु,कार्य समिति, साधारण सदस्यहरु,कर्मचारीहरु, मेरा सम्पूर्ण अग्रजहरु, पत्रकार मित्रहरु, सल्लाकारज्यूहरु, नेपाल सरकार, यो अभियानमा लाग्नुहुने र्सम्पूर्ण सहयात्रीहरु , विभिन्न दातृ-निकायहरु , नेपालस्थित अमेरीकन दुताबासका कर्मचारीहरु ,मलाई यो अवार्ड कार्यक्रममा सहयोग गर्नु हुने नेपाली तथा बिदेशी साथीहरु, मलाई फ़ेसबुकको स्टाटस् र इन्बक्सबाट बधाई दिनु हुने सम्पुर्ण साथीहरु र बिशेष गरी मलाई प्रतिष्ठीत सम्मानबाट सम्मान गर्दै यो अभियानमा निरन्तर लाग्न थप प्रेरणा दिएकोमा अमेरीकी सरकारलाई धन्याबाद दिन चाहान्छु।”
अमेरिकी सरकारद्वारा यस बर्ष मानव बेचबिखन बिरुद्दको उल्लेखनीय कामका लागि सम्मानित हुनेहरुमा नेपाली चेली सुनिता दनुवार सहित बहराइनका अौसमा ऐयाव्सी, बुर्किनो फासोका जोसु एंगो, क्यामरुनकी फ्रान्सिस्का अवाह, एलसाल्भडोरकी एनिरा भायोलेटा, इन्डोनेशियाकी मैजिदाह सालस, नाइजेरियाकी ब्लेसिंग ओकेइदिन, सर्बियाकी इभाना रोदोभिक, दक्षिण कोरियाका किम जंग चुल, र सुडानका योसिफ अब्राहम रहेका छन्।
तस्वीर: फिचर फोटो- सुनिता दनुवारको फेसबुक पेज
अन्य तस्वीर- अमेरिकी विदेश मन्त्रालयको ट्वीटरबाट
प्रतिक्रिया लेख्नुहोस्:-