विश्वकप २०१८ अन्तर्गत आज भएको राउण्ड-अफ-१६ को दोश्रो खेलमा यूरोपियन फुटबलमा उदाउँदो शक्ति बेल्जियमद्वारा जापान पराजित भएको छ। पहिलो हाफ बराबरी खेलेका जापान र बेल्जियम दोश्रो हाफको शुरुदेखि नै गोलका लागि आक्रामक खेल्दै थिए। ४८औं मिनेटमा जापानका जर्सी नं ८ का मिडफिल्डर हरागुसीको सुन्दर गोलसंगै १-० गोलले अग्रता लिएको जापानले त्यसको ४ मिनेट मै डिबक्स बाहिरबाट जर्सी नं १४ का मिडफिल्डर इनुईले गरेको रहरलाग्दो प्रहार गोलमा परिणत भएपछि बेल्जियमसंगको अग्रता दोब्बर बनायो।
समूह चरणका तीनवटै म्याच जितेर नक-आउट चरणमा पुगेको बेल्जियमलाई एशियन फुटबलमा चम्किकहेको जापानले ६९ मिनेटसम्मको खेलस्थिति अनुसार क्वार्टर फाइनलमा जान दिने संभावना थिएन। यसैबीच बेल्जियमका भेट्रोघेनले (जर्सी-५) ले गोलगर्दै बेल्जियमलाई खेलमा फर्काए। लगत्तै ७४ मिनेटमा बेल्जियमका सब्स्टिच्यूट खेलाडी फेल्लानी (जर्सी ८)ले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याइपुय्राए। करीब ७० मिनेटसम्म २-० गोलको अग्रता लिएको जापानले खेलको उत्तरार्धमा खेलमा नियन्त्रण राख्न सकेन। जापानको लागि दुर्भाग्य नै हो कि स्टपेज टाइमको रुपमा थपिएको समय ९०+४ मिनेटमा बेल्जियमका अर्का सब्स्टिच्यूट चाड्ली (जर्सी नं २२)ले गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरिदिए।
खेलअतिरिक्त समयमा जाने स्थिति बनिसकेको बेला जापानी डिफेन्सको फितलो प्रदर्शन आज जापानको हारको कारण बन्यो। विश्वकपमा इतिहास बनाउने अवसरबाट जापान चुक्यो भने लगभग हारको स्थितिबाट एकाएक खेल नै जितेर बेल्जियमले अप्रत्याशित र सुखद नतिजा निकालेको छ।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-