काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरोध गर्न खोजेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार दिउँसो माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’
आफूहरु सुशासन, भ्रष्टाचारविरूद्धको लडाइँमा भएको र त्यो जित्ने दाबी गर्दै उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौं। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरू एकताबद्ध हुँदैछौं। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौं।’
प्रतिक्रिया लेख्नुहोस्:-