–सुजन पण्डित
आधुनिक खेलकुद महोत्सवहरुमा नगद पुरस्कार राशीले निकै ठूलो महत्व राख्न शुरु भएको छ। विश्वस्तरीय र क्षेत्रीयस्तरका खेलहरुमा हुने ठूलो रकमको व्यापारिक प्रायोजन, विज्ञापन शुल्क, टेलिभिजन प्रशारण अनुमति र टिकट शुल्कहरुबाट संकलन हुने अर्बौं डलरबाट सहभागी टिम र खेलाडीहरुलाई दिइने पुरस्कार राशीको हिस्सा पनि निरन्तर बढिरहेको छ। यसै सन्दर्भमा जारी फिफा विश्वकपका लागि घोषित पुरस्कार रकमले संसारभरका खेलप्रेमी र संचारकर्मीहरुको ध्यान खिचेको छ।
सन् १९३० बाट विश्व फुटबल महासंघ (फिफा) ले विश्वस्तरीय फुटबल प्रतियोगिता- ‘विश्वकप फुटबल’ आयोजना गर्न शुरुवात गरेको हो। उरुग्वेको राजधानी शहर मोन्टेभिडियोमा पहिलोपटक आयोजना भएको विश्वकपमा सहभागी र खेल पदाधिकारी सबैको खर्च बेहोर्ने शर्तमा मात्र उरुग्वेले विश्वकप आयोजना गर्न पाएको थियो। त्यो बेला बिजेता टोली तथा खेलाडीलाई च्याम्पियन ट्रफी बाहेक नगद पुरस्कार दिने व्यवस्था थिएन। विश्वकपको एघारौं श्रृंखला सन् १९७८ मा अर्जेन्टिनामा आयोजना हुन्जेलसम्म पनि कुनै नगद पुरस्कारको व्यवस्था फिफाले गरेको थिएन। तर सन् १९८२ मा स्पेनमा आयोजित विश्वकपबाट भने फिफाले ‘फिफा वर्ल्डकप ट्रफी’का अतिरिक्त बिजेता तथा सहभागी टोलीहरुलाई नगद पुरस्कार समेत दिन शुरु गरेको हो। विश्वकप १९८२ मा विभिन्न विधामा दिइने पुरस्कारका लागि २० मिलियन अर्थात २ करोड डलर पुरस्कार राशीको व्यवस्था भएको थियो।
फिफाले प्रतियोगितामा स्पोन्सर, विज्ञापनदाता, टेलिभिजन प्रशारण अधिकार शुल्क, टिकट बिक्री लगाएतबाट बढेको आम्दानीसंगै पुरस्कार राशी पनि बढाउँदै लान थालेको तथ्यांकहरुले देखाउँछ। ३६ बर्ष अघि २० लाख डलरबाट शुरु भएको पुरस्कार राशी अहिले रसियामा जारी विश्वकपको २१ औं श्रृँखलासम्म आइपुग्दा झण्डै ४० गुणा बढेर ७९१ मिलियन डलर अर्थात ७९ करोड डलर भएको छ। शुरुमा बिजेता/ उपबिजेता देशलाई मात्र दिइने नगद पुरस्कार अहिले विश्वकपमा सहभागी प्रत्येक टोलीले समेत प्राप्त गर्दछन्। विश्वकपमा सहभागी भएर समूह चरणबाटै बाहिरिने देशको फुटबल संघले समेत गत २०१४ को विश्वकप देखि ८ मिलियन अर्थात ८० लाख डलर नगद पुरस्कार पाउने व्यवस्था फिफाले गरेको छ। गत विश्वकपमा ३५८ मिलियन डलर अर्थात ३५ करोड ८० लाख डलर त सहभागी ३२ देशको फुटबल संघलाई उनीहरुको प्रदर्शन अनुरुप दिइने पुरस्कारमा मात्र खर्च भएको थियो। जारी विश्वकपमा सहभागी देशहरुलाई उनीहरुको प्रदर्शन अनुरुप दिइने नगद पुरस्कारमा गत विश्वकपमा भन्दा १२ प्रतिशतले बृद्धि गर्दै ४०० मिलियन डलर बनाइएको छ। यस अन्तर्गत बिजेता र उपबिजेतालाई दिने पुरस्कारमा तीन मिलियन डलर बढाएर क्रमश ३८ र २८ मिलियन डलर बनाइएको छ भने तेश्रो र चौथो हुने टिमलाई दिइने पुरस्कारमा पनि २ मिलियन डलर बढाएर क्रमश २४ र २२ मिलियन डलर बनाइएको छ। यस अतिरिक्त क्वार्टर फाइनलमा पुग्ने देशका लागि दिइने नगद पुरस्कार २ मिलियन डलर बढेर १६ मिलियन डलर भएको छ भने राउण्ड अफ १६ मा पुग्ने टोलीले तीन मिलियन डलर बढेको सहित गरेर १२ मिलियन डलर पाउने भएका छन्। समूह चरणबाटै बाहिरिने देशहरुलाई दिइने पुरस्कार राशी भने यो पटक पनि ८ मिलियन डलर नै कायम भएको छ। विश्वकप खेल्न छनौट भएका सबै ३२ देशको फुटबल संघलाई खेल तयारीका लागि प्रति देश १.५ मिलियन डलरका दरले हुन आउने ४८ मिलियन डलर समेत फिफाले दिने व्यवस्था गत २०१४ को विश्वकप देखिन नै हुन थालेको छ।
यस अतिरिक्त फिफाले करीब २०९ मिलियन डलर खेलाडीहरुका सम्वन्धित फुटबल क्लबहरुलाई खेलाडीहरुले विश्वकपमा दिएको समयको क्षतिपूर्तिका लागि खर्च हुनेछ भने करीब १३४ मिलियन डलर खेलाडीहरुको बिमाका लागि खर्च हुने फिफाले जनाएको छ।
यस हिसाबले ३२ सहभागी देशलाई सिधै दिने पुरस्कार बाहेक क्लबलाई दिइने भुक्तानी, खेलाडी बिमा तथा आयोजक मुलुकलाई दिइने केही रकम समेत गरेर फिफाले पुरस्कार राशीका लागि ७९१ मिलियन डलर अर्थात ७९ करोड डलर छुट्याएको छ। यो रकम गत विश्वकपको ५६४ मिलियन ( ५६ करोड ४० लाख) डलर भन्दा ४० प्रतिशतले बढी हो। फिफाले गरेको यस्तो बढोत्तरीले विश्वकप फुटबलको रौनकता झनै बढेको छ।
विश्वकप फुटबलको नगद पुरस्कार राशी सुनेर कति धेरै पुरस्कार दिएको होला जस्तो लागिरहेको बेला यूरोपियन च्याम्पियन्स लिगमा २०१७/२०१८ का लागि दिइएको नगद पुरस्कार सुन्दा धेरैलाई आश्चर्य लाग्नु स्वभाविक नै हो। यो वर्ष च्याम्पियन्स लिग बिजेता रियल मेड्रिडले ८९.५ मिलियन पाउण्ड अर्थात ११८.१४ मिलियन डलर पुरस्कार पाएको थियो। जस मध्ये ५४.२ मिलियन पाउण्ड (७१.५ मिलियन डलर) लिग च्याम्पियन भए बापत पाएको हो भने ३५.३ मिलियन पाउण्ड (४६.५ मिलियन डलर) ‘मार्केट पुल’का लागि पाएको थियो। खेल प्रदर्शनका आधारमा पाए कै पुरस्कार रकमलाई मात्र हेर्ने हो भने पनि विश्वकप फुटबलमा च्याम्पियन्सले पाउने ३८ मिलियन डलर भन्दा यूरोपियन च्याम्पियन्स लिग बिजेताले यो वर्ष पाएको ७१.५ मिलियन डलर ३३.५ मिलियन बढी हो। सो लिगमा यो वर्ष १.३ बिलियन पाउण्ड अर्थात १.७२ बिलियन डलर पुरस्कार दिइएको थियो। यस अर्थमा यूरोपियन च्याम्पियन्स लिग वर्तमान विश्व खेल महोत्सवहरु मध्ये सबभन्दा ठूलो पुरस्कार राशी भएको खेल उत्सवको रुपमा दर्ज भएको छ। च्याम्पियन्स लिगको कुल पुरस्कार राशी यो वर्ष फिफा विश्वकपको पुरस्कार राशी ७९१ मिलियन डलर भन्दा झण्डै एकहजार मिलियन डलर अर्थात एक अर्ब डलर नै बढी हो।
विश्व खेल महोत्सवहरुमा आम्दानी र खर्चको अंकमा भएको बृद्धिसंगसंगै खेल प्रविधीमा समेत गुणात्मक विकास भएको छ। यो पटक देखि विश्वकप फुटबलमा गोल लाइन टेक्नोलजी र भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को समेत प्रयोग गरियो। यी अत्याधुनिक प्रविधीको प्रयोगमा समेत फिफाले थप खर्चहरु गरेको देखिन्छ। भिएआरको प्रयोगले नियमित रेफ्रीका कैयन निर्णयहरु परिवर्तन भए भने कैयन पेनाल्टी निर्णय समेत पछि भिएआरको सहयोगबाट भएका थिए। भिएआरको प्रयोगले खेलमा रेफ्रीबाट भएका बिवादास्पद निर्णयहरु सच्चिन मद्दत गरेपनि कतिपय खेल विशेलेषकहरुले भने यसले रेफ्रीको विवेक र निर्णय क्षमता कमजोर बनाएको र फुटबलको ‘ओरिजिन्यालिटी’मा बाधा पुय्राएको भनेर बिरोध समेत गरेको देखियो।
विश्वकपमा गोल
फुटबल खेलमा गोलको चर्चा भएन भने त फुटबलका बारेमा लेखिने आलेख/समाचारहरु नै पूर्ण हुँदैनन्। यस आलेखमा फुटबलमा हाल दिन थालिएको नगद पुरस्कारका अतिरिक्त फिफा विश्वकपमा भएका गोलहरुका बारेमा पनि चर्चा गरिएको छ।
विश्वकपमा पहिलो गोल गर्ने फ्रान्सका लुसियन लरेन्टको पहिलो गोल समेत गरेर हालसम्म आयोजित २१ वटा संस्करणका विश्वकप फुटबल खेलहरुमा जम्मा २,५४० गोल भएको रेकर्ड छ। जसमा जारी (२०१८) विश्वकपको तेश्रो स्थानको लागि भएको खेलसम्म भएको ६३ म्याचहरुमा भएको १६३ गोल समेत समावेश छ। जारी विश्वकपको आइतबार हुने फाइनल खेलमा हुने गोल समावेश हुँदा पनि हालसम्म सबभन्दा बढी गोल भएको विश्वकप भने १९९८ मा फ्रान्समा र २०१४ मा ब्राजिलमा आयोजित विश्वकप नै हुनेछ। यी दुई विश्वकपमा समान १७१ गोल भएका थिए। पहिलो विश्वकपमा १३ देशले भाग लिएका थिए र ७० गोल भएको थियो। दोश्रो र तेश्रोमा क्रमश १६ र १५ देशले भाग लिएका थिए भने क्रमश ७० र ८४ गोल भएका थिए।
सन् १९८२ मा स्पेनमा भएको विश्वकपबाट मात्र २४ देशले भाग लिने व्यवस्था मिलाएको फिफाले १९९८ मा फ्रान्समा आयोजित विश्वकपबाट भने ३२ देशको सहभागिता गराउन थालेको हो। फिफाको तथ्यांक अनुसार १९५४ मा स्विजरल्याण्डमा भएको विश्वकप नै म्याच संख्याका आधारमा सबभन्दा बढी औसत गोल ५.३८ गोल प्रति म्याच भएको विश्वकप हो, जहाँ २६ खेलमा १४० गोल भएका थिए। यसैगरी सन् १९९० मा इटलीमा आयोजित विश्वकप हालसम्म कै सबभन्दा कम प्रतिखेल औसत २.२१ गोल भएको विश्वकप हो जहाँ ५२ खेलमा ११५ गोल भएको थियो। जारी विश्वकपमा हालसम्मको ६३ खेलमा २.५८ को औसतले १६३ गोल भैसकेका छन् भने फाइनलमा १-० गोलको नतिजा आयो भने पनि विश्वकप २०१८ मा कम्तिमा १६४ गोल हुने निश्चित छ। सन् १९६२ विश्वकप अघिका सबै विश्वकपमा औसत गोल ३.६ भन्दा ज्यादा नै रहेको तथ्यांक छ भने १९६२ यताका कुनैपनि विश्वकपमा औसत गोल २.९ भन्दा बढी भएको छैन।
सन् २००२ को विश्वकपको लागि छनौट खेल अन्तर्गत अष्ट्रेलिया र अमेरिकन समोआबीचको खेलमा भएको गोल नै हालसम्म विश्व फुटबलमा भएको सबभन्दा धेरै गोल हो। जहाँ अष्ट्रेलियाले विपक्षी अमेरिकन समोआलाई ३१ गोल हानेको थियो। उक्त खेलमा अष्ट्रेलियन खेलाडी आर्की थम्सन एक्लैले १३ गोल हानेका थिए जुन विश्व फुटबल इतिहास मै अहिलेसम्म कुनै खेलाडीले एउटै खेलमा गरेको सबभन्दा धेरै गोल हो।
विश्वकप फुटबलमा गोलका अनेकन रेकर्डहरु स्थापित भएका छन्। फ्रान्सका लरेन्स लरेन्ट विश्वकप १९३० मा पहिलो गोल गर्ने खेलाडी हुन् भने विश्वकपका २४ खेल खेल्दै १६ गोल गरेका जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोज सबैभन्दा बढी गोल गर्ने खेलाडी। ब्राजिलका स्टार स्ट्राइकर रोनाल्डोले १९ खेलमा १५ गोल गरेका थिए।वर्तमान विश्व फुटबलका सर्बाधिक चर्चित खेलाडी लियोनल मेस्सीले १९ खेलबाट ६ गोल गरेका छन् भने अर्का चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले १३ खेलबाट ७ गोल गरेका छन्। संभवत विश्व फुटबलमा सबभन्दा सम्मानपूर्वक लिइने नाम पेलेले ब्राजिलका लागि १४ खेल खेलेर १२ गोल गरेका थिए भने अर्का चर्चित अर्जेन्टेनी भेट्रान फुटबलर डिएगो म्याराडोनाले २१ खेलमा ८ गोल गरेका थिए।
विश्वकप-तथ्यांक सारांस
-पहिलो विश्वकप बिजेता- उरुग्वे
-पहिलो विश्व कप आयोजक- उरुग्वे
-विश्वकपमा पहिलो गोल गर्ने- लरेन्स लरेन्ट- फ्रान्स
-पहिलो ह्याट्रिक- बर्ट प्याटेनउडे- संयुक्त राज्य अमेरिका
-पहिलो विश्वकपमा सहभागी देश- १३
-पहिलो विश्वकपमा भएको गोल- ७०
-पहिलो विश्वकपमा भएको खेल- १८
-सबै विश्वकपमा सहभागी हुन सकेको देश- ब्राजिल
-पहिलो विश्वकपमा सबभन्दा बढी गोल गर्ने- गुइलर्मो स्टाविल- ८ गोल अरजेन्टिना
-एउटै विश्वकपमा सबभन्दा धेरै गोल- जस्ट फन्टनी, फ्रान्स
-विश्वकपमा सबभन्दा बढी गोल- मिरोस्लाभ क्लोज, जर्मनी
-सबभन्दा धेरै पटक विश्वकप- ब्राजिल, पाँच पटक
-सबभन्दा धेरै गोल भएको विश्वकप- १७१ गोल १९९८/२०१४ माल
-पहिलो फिफा अध्यक्ष- रोबर्ट ग्युरिन, फ्रान्स १९०४-१९०६
-सबभन्दा बढीसमय फिफाको अध्यक्ष- जुलस रिमेट, ३३ बर्ष (१९२१-१९५४) फ्रान्स
-वर्तमान फिफा अध्यक्ष- गियानी इन्फ्यान्टिनो २०१६ बाट
-सबभन्दा बढी नगद पुरस्कार राशी- ४०० मिलियन डलर, विश्वकप २०१८, बिजेताका लागि ३८ मिलियन डलर
-हालसम्म विश्वकप खेलेका देश- ७७ देश (२०१८)
-विश्वकपमा सबभन्दा बढी खेल खेल्ने देश- ब्राजिल/जर्मनी १०९ खेल
-सबभन्दा बढी खेल जित्ने- ब्राजिल जीत-७०
-सबभन्दा बढी पहेंलो कार्ड पाएको देश- अर्जेन्टिना, १११
-सबभन्दा बढी रातो कार्ड पाएको देश- ब्राजिल,१०
स्रोत: फिफा डट कम/ विकिपेडिया
प्रतिक्रिया लेख्नुहोस्:-