अमेरिका, जुलाई १७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसंग हेल्सिन्कीमा भेट्नु अघि गरेको ट्वीट र त्यसमा रसियन विदेश मन्त्रालयले गरेको समर्थनले अमेरिकी राजनीति र संचार जगत मै एउटा तरंग ल्याएको छ। ट्रम्पले रसियासंगको सम्वन्ध बिग्रनुमा अमेरिका कै बर्षौंदेखिको मुर्खताले काम गरेको भनेका छन्। संभवत ट्रम्प नै यस्ता बहालवाला अमेरिकी राष्ट्रपति होलान् जसले कुनै अर्को महाशक्ति राष्ट्रको राष्ट्रपतिसंगको निर्धारित शिखरवार्ता अघि आफ्नै देशलाई गाली गरेका छन्। उनको यसखाले सार्वजनिक प्रतिक्रियाका कारण अमेरिका भित्र मात्र नभएर अमेरिकाले गरिरहेको विश्व नेतृत्वमा समेत कैयन प्रश्नहरु सृजना भएका छन्।
राष्ट्रपतिको ट्वीटको सर्वत्र आलोचना भइरहेको बेला हेल्सिन्कीमा रसियन राष्ट्रपतिसंगको संयुक्त पत्रकार सम्मेलन पनि बिवादास्पद नै बन्यो। उनको जवाफले विश्वभर अमेरिकी नेतृत्व सबल होइन कमजोर भएको भनेर डेमोक्रेटहरुले आरोप लगाएका छन्। सामाजिक संजालमा त कतिपय अमेरिकनहरुले राष्ट्रपति ट्रम्पलाई देशद्रोही समेत भनेर आरोप लगाएका छन्। ट्वीटरमा त ह्यासट्याग सहितको ‘सरेन्डर समिट’ समेत भनिएको छ। राष्ट्रपतिको ट्वीटलाई रसियन विदेश मन्त्रालयले पुरै समर्थन गरेबाट समेत अमेरिकी राजनीतिमा चिन्ता बढाएको छ।
सिएनएन अमेरिकी संचार माध्यमहरुले ट्रम्पको ट्वीट र पुटिनसंगको संयुक्त पत्रकार सम्मेलन पश्चात इतिहास मै सबभन्दा कमजोर अमेरिकी नेतृत्व भनेका छन्। राष्ट्रपतिको व्यवहार र सामाजिक संजालमा प्रयोग भएका भाषा-शैलीले डेमोक्रेटहरुलाई मात्र होइन स्वयं रिपव्लिकन नेताहरुलाई पनि क्रुद्ध बनाएको संकेत ओहायोका गभर्नरको सिएनएन प्रतिक्रियामा प्रष्ट देखिएको थियो। सिएनएनका अनुसार इलोनोयसका रिपव्लिकन सासंद एडम किन्जिंगरले ‘ट्रम्प-पुटिन’ संयुक्त पत्रकार सम्मेलनको प्रतिक्रिया अमेरिकाका लागि निकै गलत भएको र धेरै हिसाबले राष्ट्रपति ट्रम्पले गल्ति गरेका छन् भनेका छन्।
राष्ट्रपति ट्रम्पको अन्तराष्ट्रिय मंचहरुमा गएर आफ्ना पूर्व राष्ट्रपति ओवामा वा राष्ट्रपति चुनावमा आफ्नो प्रतिद्वन्द्वीको बेइज्जत गर्ने शैलीले समग्रमा अमेरिकी नेतृत्व नै कमजोर हुने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन्। उनको बिरोधीहरु प्रति लक्षित अनियन्त्रित ट्वीटर हमलाले अमेरिकी नेतृत्वको विश्व राजनीतिमा पकड कमजोर हुँदै गैरहेको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्। उनका काम र शैलीको बिरोध गर्ने संचार माध्यमहरुलाई उनले गरिरहेको निरन्तरको ट्वीट हमला समेत अब आलोच्य हुन थालेको छ। उनलाई समर्थन नगर्ने सबै मिडियाहरु उनका लागि ‘फेक न्यूज’ हुन् अमेरिकामा।
ट्रम्पले २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको कुरा पुटिनले अस्वीकार गरेको कुरालाई जति वजनका साथ बताए, त्यति नै कमजोर ढंगले उनले एफबिआई लगाएतका सबै अमेरिकी गुप्तचर निकायहरुले सर्वसम्मत रुपमा प्रमाणित गरेको राष्ट्रपति चुनावमा भएको भनिएको ‘रुसी हस्तक्षेप’लाई पुटिनसंगै उभिएर पुरै अस्वीकार गरे। उनको यो शैलीले आफू राष्ट्रपति निर्वाचित भएको कुराको बचाव गरेपनि अमेरिकी गुप्तचर निकायहरुलाई भने ऐतिहासिक रुपमै निकै कमजोर प्रमाणित गरिदिएको मात्र छैन, त्यसले अमेरिकी राष्ट्रिय सुरक्षाका र उसका सहयोगी राष्ट्रहरुकाको सुरक्षामा समेत अमेरिकी गुप्तचर निकायहरुको शसक्त उपस्थितिलाई कमजोर बनाइदिएको छ।
ट्रम्प कतिसम्म आत्मकेन्द्रीत छन् भन्ने कुराको सानो उदाहरण हिजोको पुटिनसंगको शिखरवार्तापछिको पत्रकार सम्मेलन हेरे पुग्छ। फिफा विश्वकपको २१ औं संस्करणको आयोजना आइतवार भव्यताका साथ सम्पन्न गरेर सोमवार राष्ट्रपति ट्रम्पसंग शिखरवार्ताका लागि हेल्सिन्की पुगेका रसियन राष्ट्रपति पुटिनले विश्वकप २०१८ को अफिसियल फुटबल ट्रम्पलाई दिएका थिए। विश्वकप २०२६ को सह-आयोजक मध्येका एक अमेरिकी राष्ट्रपतिलाई उनले सो बल उपहार दिएका थिए। ट्रम्पले उक्त फुटबललाई अमेरिकी फुटबल (सकर) संघलाई दिइनेछ भन्नुको सट्टा आफ्नो छोरा ब्यारेनका लागि भन्दै पत्रकार सम्मेलन मै उपस्थित अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई दिए। संयोगले संसारभरको संचार माध्यमको उपस्थिति भएको बेला उपहार स्वरुप प्राप्त विश्वकपको अफिसियल बललाई अमेरिकन सकर एशोसियसनलाई हस्तान्तरण गर्दा हुने गौरवलाई वेवास्ता गर्दै त्यसलाई उनले आफ्नो छोराको साधारण खेलौना बल बनाउन उपयुक्त ठाने।
राष्ट्रपतिका व्यक्तिगत ट्वीट र पुटिनसंगको स्युक्त पत्रकार सम्मेलनले निम्त्याएको असहज स्थिति र देशभित्र ल्याएको नकारात्मक राजनीतिक हलचललाई साम्य पार्न ह्वाइट हाउसले तत्काल ‘ड्यामेज कन्ट्रोल’को काम शुरु गरेको समाचारहरुमा जनाइएको छ।
गत जुन १२ मा भएको उत्तर कोरियन नेता किम जंग उनसंगको निकै सफल मानिएको सिंगापुर शिखरवार्ताले बढाएको ट्रम्प क्रेज जुलाई १६ को हेल्सिन्की शिखरवार्तामा आइपुग्दा अमेरिकाभित्र धुलिसात भएको छ। उनको चुलिएको कुटनैतिक उचाई र अमेरिकी नेतृत्व हिजोको उनको प्रस्तुति र एउटा ट्वीटले गर्ल्याम्मै ढलेको छ।
फोटो: ‘दि गार्डियन’
प्रतिक्रिया लेख्नुहोस्:-