काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वेदशमै मेडिकल शिक्षाको प्रवर्द्धनका साथसाथै स्वास्थ्य उपचारका लागि सहर र विदेशी धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् ।
आइतबार त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यययन संस्थान (आईओएम) को ५० औं वार्षिकउत्सव समारोहलाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उनले स्वास्थ्य संस्था र मेडिकल क्षेत्रका शिक्षणसंस्थालाई सबै प्रदेश र भुगोलमा विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिइन् । ‘अहिले उपचारका लागि सहर वा विदेश जानुपर्ने अवस्था छ, यसको अन्त्य हुनुपर्छ,’ उनले भनिन् । त्यसका लागि आईओएम जस्ता नेतृत्वदायी संस्थाको सेवा र सुविधा थप विस्तार गर्नुपर्ने उनले बताइन् । ‘आईओएमबाट उत्पादित जनशक्तिले दुरदराजमा सेवा पुर्याएकोमा प्रंशसा गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन, ‘यसको क्षमता विस्तारका लागि सरकारले थप सहयोग गर्नुपर्छ ।’
उक्त समारोहमा आईओएमका चिकित्सक, प्राध्यापक, कर्मचारी सहभागी थिए । राष्ट्रपतिको उपस्थितिमा वार्षिकउत्सव समारोह राखिएकाले त्रिवि शिक्षण अस्पतालको दिउँसोको सिफ्टको सेवा भने बन्द गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-