उर्लाबारी, मोरङ, ३ साउन / उर्लाबारी नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई ध्यानमा राखी केन्द्र स्थापना गरेको उपशाखा सभापति मदनबाबु प्रसाईंले बताउनुभयो । केन्द्रको अभावमा पूर्वी मोरङका बासिन्दालाई सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि विराटनगर तथा धरान जानुपर्ने बाध्यता थियो । उर्लाबारी नगरपालिका, रेडक्रस मोरङ र विभिन्न दाताको आर्थिक सहयोगमा केन्द्र स्थापना गर्न रु १५ लाख खर्च भएको छ ।
केन्द्र भवनको उर्लाबारीका प्रमुख खड्ग फागो तथा रक्तसञ्चार सेवाको रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख फागोले जुनसुकै बिरामीलाई जुनसुकै बेला पनि रगत अत्यावश्यक हुने भएकाले जनताको पहुँचसम्म पुग्नेगरी स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा ३७ जनाले रक्तदान गर्नुभएको थियो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-