ठमाडौँ, ४ साउन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भन्नुभयो, “तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपार्इंले खेलेको भूमिका सकारात्मक रह्यो ।”
अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उहाँले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना रहेको समेत अध्यक्ष दाहालको भनाइ थियो ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेल्नुभएकामा अध्यक्ष दाहालको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-