काठमाडौँ, ८ साउन / नेपाल चिकित्सक संघको आह्वान विपरित विभिन्न अस्पतालले विरामीको उपचारमा कुनै असर पर्न दिएको छैन् ।
संघले सोमवार विज्ञप्ति प्रकाशित गरी देशभरका चिकित्सकलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसीद, बील बहिष्कार गर्ने गरी बैकल्पिक उपायद्वारा बहिरङ्ग सेवा सञ्चालन गर्न आह्वान ग¥यो ।
तर यसपटक अस्पताल प्रशासनले बिरामीलाई कुनैपनि तरीकाले अप्ठ्यारोमा पार्ने पक्षमा थिएनन् । चिकित्सा शिक्षासम्बन्धी विभिन्न खाले माग राख्दै २५ दिनदेखि आमरण अनशनमा रहनुभएका चिकित्सक डा गोविन्द केसीको समर्थनमा गरिएको सो आह्वानले अनशनस्थल रहेको शिक्षण अस्पतालमा पनि असर परेको देखिएन ।
अस्पतालका वरिष्ठ मेडिकल रेर्कडर कुमार केसीले यसपटकको अनशनले पहिलेको जस्तो प्रभाव नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमै अनशन बस्दा असर नै नपर्ने भन्ने त हुँदैन, तर पहिलेको दाँजोमा कम छ, बरु अस्पताल बन्द भनेर आउने समाचारले भने असर गर्छ ।”
शिक्षण अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढीले बहिरङ्ग सेवा लिँदै आएका छन् । यो संख्या अनशनका समयमा पनि कम नभएको वरिष्ठ मेडिकल रेर्कडर केसीको भनाइ छ ।
आकस्मिक सेवा पनि दैनिक ३०० भन्दा बढीले लिँदै आएका छन् । आवासीय चिकित्सकले बहिरङ्गमा टिकट काटेका बिरामी नहेर्ने बरु बाहिर हेर्ने भने पनि अस्पतालले ओपिडी टिकट काटेर बिरामीको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।
शिक्षण अस्पतालमा ३०० आवासीय चिकित्सक छन् । उनीहरुले आज अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै रिले अनशनमा बसेका छन् । तर त्यसले उपचारमा असर पर्न नदिन शिक्षण अस्पतालले उपचार बन्द गर्ने वा बिरामी फर्काउने काम नगरेको अस्पताल प्रशासनको भनाइ छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले पनि बिरामी लाई उपचार गराएर मात्र फर्काउने गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेश गुरुङ अनशनका कारण आवासीय चिकित्सकले आन्दोलन गरे पनि अस्पतालको सेवामा ठूलो असर नपरेको बताउनुभयो ।
वीर अस्पतालमा झण्डै ४५० आवासीय चिकित्सक छन् । उहाँले भन्नुभयो, “उनीहरुले काम नगर्दा केही असर त परेको छ तर हाम्रा विशेषज्ञ चिकित्सकहरुले बिरामीको उपचार गरिरहनुभएको छ ।”
वीर अस्पतालमा हरेक दिन देशभरबाट कम्तीमा पनि दुई हजार ५०० व्यक्तिले बहिरङ्ग सेवा अर्थात ओपिडी सेवा लिन्छन् भने ३०० देखि ४०० सम्मले आकस्मिक सेवा लिने गरेका छन् ।
आन्दोलनको हल्लाका कारण बिरामीको संख्यामा केही कमी आएको उपकुलपति गुरुङको भनाइ छ । “अहिले बाहिरबाट कमै बिरामी आएका छन्, आजभोलि दैनिक दुई हजार बिरामी आइरहेका छन्”–उहाँले भन्नुभयो ।
राजधानी बाहिरबाट उपचारका लागि आउनेहरुका लागि वीर अस्पताल र शिक्षण अस्पताल आशाको केन्द्र हो । राजधानीकै ठूलो र सुविधासम्पन्न सरकारी अस्पताल भएकाले जुनसुकै वर्गका विरामी ती अस्पताल पुग्छन् ।
पटकपटक हुने यसखाले आन्दोलन र हड्तालले बाहिरबाट उपचारका लागि सीमित खर्चमा आउने बिरामीलाई सास्ती हुने गरेको छ । शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख वरिष्ठ मनोेचिकित्सक प्रा डा सरोजराज ओेझाले विरोध गरेपनि बिरामीलाई उपचारबाट बन्चित गरिन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चिकित्सकको उद्देश्य उपचार सेवा दिनु नै हो, विरोधको पनि नयाँ तरीका अपनाऔँ, बिरामीलाई सेवा नदिएर वा सास्ती दिएर होइन ।”
उहाँले आफ्नो ड्युटी समयमा काम सकेर बाँकी समयमा आन्दोलनमा जान सके बरु सकारात्मक प्रभाव पार्ने धाराणा राख्नुभयो । विभिन्न विशेषज्ञसहितका विशेष सेवा पनि यी अस्पतालबाट पाइने भएकाले बिरामीको संख्या अन्य अस्पतालमाभन्दा बढी हुने गर्छ । रासस
प्रतिक्रिया लेख्नुहोस्:-