जुलाई २६, २०१८
पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको दल यसै हप्ता भएको आमनिर्वाचनमा विजयी भएको समाचारहरु आएका छन्। पुराना र स्थापित दलहरु पाकिस्तान पिपल्स पार्टी र पाकिस्तान मुस्लिम लिग नवाज जस्ता दलहरुलाई पछाडि पार्दै चुनावी परिणाम पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई)को पक्षमा गएको छ। प्रतिद्वन्द्वी दलहरुले सेनाको सहयोगमा धाँधली भएको आरोप लगाएका छन्। निर्वाचन परिणामको औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ र शुक्रबार अबेरसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने संभावना संचार माध्यमहरुले जनाएका छन्।
सन् १९९२ मा विश्वकप क्रिकेटमा पाकिस्तानको नेतृत्व गर्दै विश्वकप जिताएका इमरान खानले परिवर्तनको नारा सहित १९९६ मा बनाएको पार्टीले गत २०१३ मा सम्पन्न निर्वाचनमा ३५ सिट जितेर पाकिस्तानी संसदमा तेश्रो दलको स्थान बनाएको थियो। खानले एउटा टेलिभिजन सम्बोधनमा आफ्नो दल बिजयी भएको बताएका छन्।
तर उनको दल पिटिआईले मात्र स्पष्ट बहुमत ल्याउन नसक्ने घोषित मत परिणामहरुले संकेत गरेका छन्।सरकार निर्माणका लागि खानको दलले अन्य दलहरूसँग गठबन्धन बनाउनुपर्ने आकलन गरिएको छ। हिंसाबाट प्रभावित पाकिस्तानी संसदीय चुनावमा मतदानको दिन पनि एक मतदान केन्द्रबाहिर भएको बम बिस्फोटनमा परेर ३१ जनाको ज्यान गएको थियो।
‘पानामा पेपर’ भनिने भ्रष्टाचारको मुद्दामा सत्तारुढ दलको प्रमुख नेता एवं पूर्व प्रधानमन्त्री नवाज सरिफलाई १० बर्षको जेल सजायँ भए पछि इमरानको पार्टीलाई फाइदा भएको भनिएता पनि पाकिस्तानको राजनीतिज्ञ जहिल्यै हस्तक्षेप गरिरहने पाकिस्तानी सेनाको सहयोग पाएकाले नै खानको पार्टी चुनावमा अगाडि आएको हुनसक्ने चुनावी विश्लेषणहरु बाहिर आएका छन्। पूर्व प्रधानमन्त्री नवाज शरिफको दल सहितका केही साना दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताएका छन्।
चुनावबाट सबभन्दा ठूलो दल बन्ने निश्चित भएको पिटिआईका अध्यक्ष खानले भने पाकिस्तानमा अहिलेसम्म भएकामध्ये यो नै सबैभन्दा निष्पक्ष निर्वाचन भएको टिप्पणी गरेका छन्। तरपनि अन्य दलहरुले लगाएका धाँधलीका आरोपहरूबारे भने आफ्नो दल सरकारमा गएपछि छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
तस्वीर: टाइम्स अफ इण्डिया
प्रतिक्रिया लेख्नुहोस्:-