काठमाडौं । नेपाल बार एसोसिएसनले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे सभामुखसँग छलफल गरेको छ । बारका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरेको बारकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।
‘हामीले सभामुखलाई महाभियोग प्रस्ताव अघि बढाउन अनुरोध गर्यौँ । उहाँले अबको अधिवेशनमा अगाडि बढाउने भन्नुभएको छ । नेपाल बारको चिन्ताको विषय संसद्को पनि चिन्ताको विषय हो भन्ने उहाँको भनाइ थियो,’ सभामुखको भनाइ उद्धृत गर्दै महासचिव खनालले भनिन् । आज दिउँसो साढे १ बजे सभामुखसँग बारले भेट गरेको हो । भेटमा संविधान र कानुनअनुसार जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरिएको उनले बताइन् । प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि १ फागुनबाटै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-