काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरिया र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दक्षिण कोरियामा नेपाली कामदारलाई रोजगारीको अवसर दिएकोमा राजदूतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा चासो राख्नुभयो ।
भेटमा राजदूत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण कोरियालीहरु नेपालमा लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे छलफल गरेर सुधार गर्ने जवाफ दिनुभयो ।
राजदूत सिकले नेपालमा ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कोरियाली कम्पनीले लगानी गरिरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरिया तयार रहेको बताउनुभयो ।
उहाँले हाल ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत रहेको र २० हजारले कार्य अवधि समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरियामा कार्यरत नेपालीका हितमा आफुहरु संवेदनशील रहेको बताउनभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-