काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इतिहास बंग्याएर जनतामा भ्रम नछर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । अध्यक्ष ओलीले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि उनले यस्तो प्रतिवाद गरेका छन् ।
एमाले अध्यक्ष ओलीले बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा बीपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो ।
सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन् । उनले अध्यक्ष ओलीले बिपी कोइरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए । उनले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-