काठमाडौं । बाँध फुटेर सप्तकोसी गाउँ पसेपछि विस्थापित भएका एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिका वडा नम्बर ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का स्थानीयको उद्धार गरिएको हो ।
उनका अनुसार उद्धार कार्य जारी छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । उनले भने, ‘बेलका नगरपालिकाको वडा नम्बर १ र २ मा पनि उद्धार गर्न टोली खटिएको छ ।’ उद्धार गरिएका घरपरिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिएको उनले बताए । उनले भने, ‘उद्धार जारी छ । साँझसम्म तथ्यांक संकलन हुन्छ ।’
यता बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बाढी प्रभावित क्षेत्रबाट झन्डै एक हजार आठ सय घरपरिवारलाई आज साँझसम्म सुरक्षित स्थानमा ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-