काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए। “नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने।
प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएका नेता महतोले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-