भक्तपुर, २४ साउन / एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका खड्का आजै नेपाल आउनुभएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल्याएर दाहसंस्कारका लागि तयारी अवस्थामा राखेको थियो ।
गत फागुनमा ४० दिनको बिदामा नेपाल आएर गत चैत १३ गते मलेसिया फर्किंदा छोरालाई खेलौना, कपडादेखि धेरै सामान ल्याइदिउँला भनेर गएका बाबु त्यही छोराको शव हेर्नुपर्दाको पीडा देख्नेलाई पनि निकै कठिन भएको थियो । रित्तो हातमा परिवार भेट्ने उत्साहलाई मार्दै एउटै मात्र छोराको सतगद्का लागि आर्यघाट पुगेका गणेशले छोराको अनुहार एक झलक हेरेपछि दोहो¥याएर फेरि हेर्न सक्नुभएन । उहाँ भक्कानिएर रोएपछि आमा चमेली, हजुरबुबा जयबहादुर, मामा, आफन्त, छिमेकी, स्कूलका शिक्षक, शिक्षिकाको शोक र रुवावासीको दृश्य देख्ने आर्यघाट पुगेका जो कोहीको आँसु त्यसैगरी रसाए ।
आमा चमेलीको बेलाबेलामा भएको बेहोसी र अरु आफन्तले व्यक्त गरेको रोदन र बेदनालाई हेर्न निकै कठिन देखिन्थ्यो । नातिको हत्याको खबर पाएर भोलिपल्ट नै मेलम्ची नगरपालिका– ९ दोबाटोबाट काठमाडौँ आउनुभएका ५२ वर्षीय हजुरबुबा जयबहादुर खड्काले नातिलाई दागबत्ति दिँदा उहाँलाई मन थाम्न निकै गाह्रो भएको थियो । बालक निशानको शव जलिरहँदा आर्यघाटको दृश्य त्यस्तै कठिन थियो ।
गत आइतबार बालकको आमा चमेलीको खाजा घरमा विगत तीन वर्षदेखि नियमितरुपमा खाजा खाँदै आएका सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले अपहरण गरी बालकको विभत्स हत्या गरेका थिए । निशानको अपहरण गरी मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारसँगै रहेको श्याम लवटको आफ्नै डेरामा लगेर रु ४० लाख फिरौती मागेपछि बालक अपहरण भएको रहस्य खुलेको थियो । अपहरणपछि तामाङद्वयले बालकलाई धेरै पीडा दिएर विभत्स तरिकाले हत्या गरेकोे प्रहरीको अनुसन्धान र अस्पतालको शव परीक्षणबाट खुलेको छ । शव परीक्षणअनुसार बालकको घाँटीको श्वासनलीको भित्रसम्म रुमाल कोचिएको पाइएको प्रहरीले जानकारी दिएको छ । अपहरणको भोलिपल्ट सोमबार बालकलाई पुरेको स्थानबाट प्रहरीले शव झिक्दाको अवस्था पनि निकै दर्दनाक थियो ।
बालकको मुखमा रुमाल र प्लाष्टिक कोचिएको, हात र खुट्टा बाँधिएको, घाँटीमा रुमालले कसेको, करीब तीन फिटको खाडलमा टाउँको तल बनाएर हातखुट्टा र जीउलाई एउटै डल्लो बनाएर विभित्स तरिकाले पुरिएको अवस्थामा प्रहरीले बालकको शव झिकेको प्रहरी र स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।रासस
प्रतिक्रिया लेख्नुहोस्:-