काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिको विकास र सम्वर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनान्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
उनले आदिवासी दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘आदिवासी जनजाति समुदायको पहलमा कानून बनाउने, स्रोत साधन एवं जनशक्तिले आयोग शक्तिशाली बनाउने, संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लगिने छ,’ प्रधानमन्त्रीले भने, ‘स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानून बनाएर छिट्टै लागू गराउने र संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार हाम्रासामु छन् । हामी सबैको सामूहिक प्रयास र सङ्घर्षले उल्लिखित कार्यभार पूरा गर्न महत्त्वपूर्ण योगदान हुनेछ भन्ने मेरो गहिरो विश्वास छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-