काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र उनका समकक्षी विदेशमन्त्री वाङ यीबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ।
मन्त्री खड्का र उनका समकक्षी वाङ्बीच तटीय शहर सान्दोङ् प्रान्तको छिङ्दाओ शहरमा आज अपरान्ह वार्ता भएको हो।
परराष्ट्र मन्त्रालयले भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको जनाएको छ। दुवै देशका मन्त्रीले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए। ‘दुईमन्त्रीबीच आपसी हित र साझा चासोका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति भएको छ’ मन्त्रालयले ट्विटमा भनेको छ।द्विपक्षीय भेटवार्तापछि वाङ्ले खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ब्यांक्वेट (रात्री भोज) दिएका छन्। मन्त्री खड्का भोली सान्दोङ्का केही स्थलको भ्रमण गरी अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ।
२०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ पहिलो उच्चस्तरीय भ्रमण हो। अमेरिकी सभामुख न्यान्सी पेलोसीको गत साता ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच तनाव चुलिएका बेला मन्त्री खड्काको चीन भ्रमण भएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-