काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीका सांसद सुनिल शर्मामाथि सुन काण्डको विषयमा बोल्दा सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताए ।
नेता कोइरालाले सुनकाण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गरे । ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ । तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्याउन खोजिएको हो र ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ,’ उनले अघि भने, ‘राजनीतिमा जब प्रतिशोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्याउँछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-