स्मार्टफोनको विकाशसँगै तिनीहरूमा विभिन्न उपयोगी मोबाइल एप्सहरु आएका छन् । दैनिक जीवनलाई गतिशीलता प्रदान गर्ने खालका मोबाइलको माध्यमले सबै भुक्तानी गर्ने तथा सामाजिक सञ्जालका एप्सले हाम्रो दिनचर्यामा आमूल परिवर्तन ल्याएको छ। सदुपयोग गर्नेले फाइदा लिएका छन् । सही व्यवस्थापन गरी प्रयोग गर्न नसक्ने यसैको लतबाट बिग्रेका छन् ।
हिजोको बुझाइ, भोगाई र गराई आज पुरानो भइसक्छ । प्रविधिले पुरा भूगोललाई एक ढिक्का बनाउँदै गएको छ । विश्वको कुनै भागमा रहेर पनि टाढा छु कि भनी अनुभूति गर्नु पर्ने अवस्था रहेको छैन । प्रविधिले हाम्रो सामाजिक व्यवहार र स्वरूपलाई भने केही परिवर्तन गरेको आभास पाउन सकिन्छ ।
मोबाइल फोन भन्दा अगाडी पेजरले खुब महत्त्व पाएको थियो । नब्बेको दशकमा हुनेहरूका खल्तीबाट पेजरको टिंगटिंग बजेको आवाज आइरहन्थ्यो । काठमाडौँमा समेत पेजर प्रदायक कम्पनीहरू एकाएक खुल्न थालेका थिए । त्यसैक्रममा मोबाइलको सुरुवात भयो । पेजर केही वर्ष टिक्यो र इतिहास भएको छ ।
नब्बेकै दशकमा खल्तीमा राख्न नसकिने ठुलो मोबाइल आज सानो खल्तीमा राख्न मिल्नेमा रूपान्तरण भएको छ । प्रविधिको विकाशमा ठुल्ठुला कम्पनी देखि व्यक्तिसम्म लागिरहेका छन् । प्रविधिलाई नयाँ स्वरूप दिन नसक्दा हिजो नाम कहलिएका नोकिया, साइमन्स, ब्ल्याकबेरीजस्ता कम्पनीहरू मोबाइल फोनको दुनियाँमा इतिहास बन्ने क्रममा छन् । कम्प्युटर निर्माताबाट मोबाइल फोनसमेत निर्माण गर्न सन् २००७ मा प्रवेश गरेको एप्पल आज धनी कम्पनीहरूको सूचीमा पुगेको छ । स्मार्टफोनको दुनियाँमा २०१० मा प्रवेश गरेको सामसुंगसमेत एप्पलको प्रतिस्पर्धामा अगाडी बढिरहेको छ। हरेक वर्ष मोबाइल कम्पनीहरू नयाँ डिजाइन र स्वरूपमा बजारमा आइरहेका छन् । सबै कम्पनीहरू कुन नयाँ फिचर दिएर स्मार्ट फोन बजारमा ल्याउने भन्नेमा नै केन्द्रित छन् । नेपालमा समेत गत वर्ष करिब ३० अरबको मोबाइल आधिकारिक रूपमा आयात भएको थियो । आयात भएको आधारमा स्मार्ट फोन प्रयोग गर्नेको संख्या नेपालमा कसरी बढ्दैछ भनी अनुमान लगाउन सकिन्छ ।
बिस वर्ष अगाडी स्कुल पढ्दा देखि सम्पर्कमा नरहेका साथीहरू आज भेट्ने मौका पाइएको छ । भूगोलको कारण भेट्न नसकेका आफन्त र साथीभाइसँग सहज सम्पर्कमा रहन सकिएको छ । केही दशक अगाडी अमेरिकातिर प्रति मिनेटको दुई सय भन्दा बढी तिरेर फोन गर्ने समयको अन्त्य भएको छ । स्काईप, भाइबर, फेसबुक लगायतका एप्सबाट सित्तैमा अनुहार हेरेर कुरा गर्न पाइन्छ । नेपालबाट अमेरिका, अस्ट्रेलिया, युरोप, अरब, मलेसिया जहाँ भए पनि अगाडी बसे झैँ गरी कुरा गर्न पाइएको छ । सहज र सरल ढङ्गमा सबैलाई जोड्ने काम गरेको छ ।
सानो जानकारी पाउनका लागि छापा पत्रकारिता, रेडियो, टेलिभिजन, मल्टी मिडिया कुर्ने दिनको अन्त्य हुँदै सोसल मिडियामा प्रवेश गरेको छ । कुनै ठाउँका घटना छिन भरमै सोसल मिडिया मार्फत थाहा पाउन सकिन्छ । साथीभाइ, आफन्त, समाचार इत्यादि हेर्दा सोसल मिडियामा घन्टौँ गएको पत्तो हुँदैन ।
सन् २००८ मा १० प्रतिशत अमेरिकनसँग सोसल मिडिया एकाउन्ट भएकोमा २०१७ मा पुग्दा ८० प्रतिशत पुगेको स्टाटिस्टाकाले निकालेको डाटामा छ । युवापिढी माझ इन्स्टाग्राम र स्न्याप च्याट प्रख्यात छ भने अन्यमा फेसबुक, ट्वीटर, युट्युबहरू प्रख्यात छन् । सोसल मिडिया साइट पनि नयाँ फिचर सहित आ-आफ्नोमा तान्न तल्लीन छन् ।
“हामी चार जना घरमा छौँ । घर भित्र छिरेपछि खासै कुरा हुन्न । सबै आफ्नो मोबाइलमा व्यस्त । के गर्नु होला ?” एक जना साथीले भन्दै थिए । आफू पनि धेरै समय फेसबुक र फोनमा नै कुरा गर्न व्यस्त रहने । साथीलाई दिने जवाफ म सँग भएन । “मैले त फेसबुक बन्द गरेँ नि ! ” नेपालीहरूद्वारा निर्मित पशुपतिनाथ मन्दिरमा भेला भएका एक जना भन्दै थिए । अर्का एक जना साथी भन्दै थिए” “मैले पनि बन्द गरे, घरमा एकजनाले चलाएको देख्दै काफी छ ।” यस्ता उदाहरण आज हरेक घरमा देखिन थालेका छन् जुन लेखेर सकिने अबस्था छैन । केहि सचेत मानिस समयमा नै यसको निराकरण गर्न प्रयत्नशील छन् । धेरै मानिस बिकाश आत्मसात गर्नु पर्छ भनि प्रविधिको शिकार बन्दै गईरहेका छन् ।
सँगै बसेका जीवन साथीलाई समेत फेसबुकबाट नै जन्मदिनको शुभकामना दिने अवस्था सिर्जना भएको छ । यसै रफ्तारमा बढ्ने हो भने भोलिका दिनमा यो सम्बन्ध कुन रूपमा विकाश होला कल्पना समेत गर्न गाह्रो छ । यी र यस्तै घटनाहरू हाम्रो समाजमा बढ्दो छन् ।
सामाजिक सञ्जालमा झुम्मिने, घन्टौँ त्यसैमा बिताउने जमात बढ्दो छ । देश विदेशमा भएकाहरूलाई नजिक तुल्यान सफल सामाजिक सञ्जाल आफ्नै घरपरिवारलाई भने सँगै बसे पनि टाढा बनाउँदै छ ।
लेखक- अग्नि चौलागाईं
प्रतिक्रिया लेख्नुहोस्:-