काठमाडौं । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ। सभामुख सापकोटासँग उनकै कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो।
सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारबीच सुमधुर सम्बन्ध रहेको बताए। उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरे।
सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताए। उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं।’
प्रतिक्रिया लेख्नुहोस्:-