काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन् । भेटवार्तामा अग्निपथ योजनाबारे कुनै छलफल भएन ।
भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।
तर यो विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले बताए । ‘यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको हो,’ उनले भने, ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी हुने कुरा थिएन ।’
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-