काठमाडौँ, २९ भदौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अप्ठेरो अवस्थामा चुनौतीको सामना गर्न ‘विशेष कार्यदल’ प्रहरीको मेरुदण्ड भएको बताउनुभएको छ ।
केन्द्रीय प्रहरी ‘विशेष कार्यदल’ कपनको आज निरीक्षणका क्रममा उहाँले कठिन समयमा आइपर्ने समस्या समाधानका लागि विशेष कार्यदलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“प्रहरी भएर देश र राष्ट्रको सेवा गर्ने विशेष जिम्मेवारी प्राप्त भएको छ, यसलाई गर्व गर्नसक्ने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
महानिरीक्षक खनालले तालीममा मिहेनत गरेर खारिएको प्रहरीले दृढता र उच्च नैतिकताका साथ कार्यक्षेत्रमा व्यावसायिकता प्रदर्शन गर्नसक्ने भएकाले सोही अनुरुप नतिजा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो ।
प्रहरीले जीवनका ऊर्जाशील समय सङ्गठनमा व्यतित गर्ने भएपछि आफ्नो जिम्मेवारीलाई महसुश गरेर देशको सेवा गरी परिवार, समाज र राष्ट्रको विश्वास जित्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यातले कार्यदललाई अझै सक्षम र सबल बनाउन सीप, दक्षता र योग्यताअनुसार कटिबद्ध भएर कार्य गर्ने बताउँदै उक्त कार्यदलले महत्वपूर्ण व्यक्तिको सुरक्षा गर्ने, बम निष्क्रिय गर्ने, खोज तथा उद्धार गर्ने, विशेष अपरेशन कार्य गर्नाका साथै युएन मिसनमा खटिने कर्मचारीलाई तालीमसमेत दिँदै आएको छ भन्नुभयो ।
सो अवसरमा महानिरीक्षक खनालले रु २९ लाख ९७ हजार १०९ लागतमा निर्माण गरिएको भान्साघरको उद्घाटन पनि गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-