अमेरिका । डेमोक्रेटिक पार्टीको सबै भन्दा ठुलो गड मानिएको क्यालिफोर्निया राज्यमा गभर्नर ग्याभिन न्युसमलाई जोगाउँदै डेमोक्रेटहरुले रिपब्लिकनको आक्रमणलाई निस्तेज पारिदिएका छन् । १५ लाख हस्ताक्षर सङ्कलन गरी अदालतबाट परमादेश जारी गराएका रिपब्लिकनहरूले गभर्नर न्युसमलाई हटाउने वा कायम राख्ने भनी गरिएको निर्वाचनमा नमिठो पराजय भोगेका छन् ।
अमेरिकामा सबै भन्दा बढी जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा डेमोक्रेटिक पार्टीको गड भत्काउन कार्यकाल १४ महिना मात्र बाकी रहेको गभर्नर न्यूसमलाई हटाउन रिपाब्लिकनहरुले करोडौँ डलर खर्च गरेता पनि नतिजा आफ्नो पक्षमा ल्याउन सकेनन् । डेमोक्रेटिक पार्टी पनि क्यालिफोर्नियाका गभर्नर न्युसमलाई जोगाउन जोडतोडले लागेको थियो । राष्ट्रपति जो बाइडेन समेत चुनाव प्रचारमा क्यालिफोर्निया राज्यमा आएका थिए ।
कोभिड –१९ विरुद्धको खोप धेरै मानिसलाई दिने सफलताको जस पाएको क्यालिफोर्निया राज्यमा गभर्नर न्यूसमलाई कोरोनाको महामारी रोक्न असफल भएको, घरबार विहीन र रोजगार विहीनहरूको सङ्ख्या बढेको लगायतका आरोप लगाउँदै हटाउन रिपब्लिकनहरूले प्रयास गरेका हुन् । ग्याभिन न्युसमलाई नै कायम राख्नु पर्छ भन्ने पक्षमा ६३ दशमलव ५ प्रतिशत मत ल्याएर न्युसम सुरक्षित भए । उनले तीन वर्ष अगाडि गभर्नरमा निर्वाचित हुँदा भन्दा पनि बढी मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-