काठमाडौं, असोज २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधान विपरित काममा लागिगरेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले बजेट अधिवशेनको अन्त्यमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारले संविधानको मर्म अनुसार काम नै नगरेको आरोप लगाए ।
‘संवैधानिक व्यवस्थाअनुरुप सबै संवैधानिक निकाय स्वतन्त्र हुनुपर्नेमा सरकारले नियन्त्रण गर्दैछ। प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड गर्ने कुरा छ। तर, सरकार शक्ति सञ्चयतिर लागेको छ ।’
देउवाले सबै भन्दा बढी भष्ट्रचार यही ढेड बर्षमा भएको भन्दै सरकार त्यसको ढाकछोपमा लागेको आरोप समेत लगाए । ‘सबैभन्दा बढी भ्रष्टाचारका घटना यही डेढ वर्षमा भएका छन्। वाइडबडीदेखि बालुवाटारसम्म। कसैलाई उन्मुक्ति दिनुहुन्न, भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिपक्षीले पनि सहयोग गर्छ।’
उनले बाँकेमा काँग्रेसले आयोजना गरेको दोस्रो चरणको जागरण कार्यक्रममा सक्षापक्षिय कार्यकर्ताले आक्रमण गरि आफ्ना जिल्ला सभापतिको हात भाचिदिएको घटना स्मरण गर्दै प्रधानमन्त्रीलाई सोधे ‘यो राज्यमा को सुरक्षित छ’? देउवाले थपे ‘हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईको राज्यमा को सुरक्षित छ?’
उनले सरकारले आफ्ना कार्यकर्ता प्रयोग गरि निरंकुशता लाद्न खोजेको आरोप लगाए । ‘जनताले आन्दोलन गरेर निरंकुशता हटाए तर सरकार कार्यकर्ता परिचालन गरि निरंकुशता लाद्न खोज्दै छ ।’ चेतावानी र आक्रोसपूर्ण रुपमा देउवाले भने ‘यसैका लागि सात सालदेखि लडेको हो? यस्तो हुन थाल्यो भने धेरै दिन रोस्टम बन्द हुन्छ। ‘
देउवाले संविधानमा प्रेस स्वतन्त्रता ग्यारेन्टी हुँदाहुँदै सञ्चारजगतलाई नियन्त्रण गर्न विधेयक जबरजस्ती ल्याउन लागेको, देशको शान्तिसुरक्षाको स्थिति नाजुक हुँदै गएको, सरकार आफै आतंक फैलाउन लागेको, चर्को कर लगाइएको, भन्दै सरकार नसच्चिए काँग्रेसले आन्दोलन गर्ने चेतावानी दिए ।
फोटो : रासस
प्रतिक्रिया लेख्नुहोस्:-