काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारेमा कानूनी परामर्श सुरु गरेका छन्।
प्रधानमन्त्री देउवाले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविदहरुलाई बोलाएर यस सम्बन्धमा कानूनी परामर्श गरेका हुन्।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता पदम रोकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको बताए।
उनले भने, ‘राष्ट्रपतिको संविधानले दिएको जुन अधिकार हो। उहाँले संविधान बमोजिम निर्वाह गर्नुपर्ने कर्तव्य राष्ट्रपतिले आफ्नो कर्तव्य पूरा गर्नुभएन। संवैधानिक व्यवस्थाको उहाँले उल्लंघन गर्नुभयो भन्ने विषय छ। संविधानको व्यवस्था संसदबाट पारित गरेर पठाएपछि एक पटक पुनर्विचार गर्ने तर फेरि पठाइसकेपछि त्यो बिललाई इन्कार गर्ने प्रमाणीकरण नगरी बस्ने अधिकार संविधानले दिएको छैन। संवैधानिक व्यवस्थाभन्दा बाहिर उहाँ जान मिल्दैन। उहाँले जुन विल प्रमाणीकरण गर्नुभएन। संविधानले तोकेको १५ दिनको समयलाई पालना नगरेर पकेटमा राख्नुभएको अवस्था छ। त्यो विषय संविधानसम्मत भएन। राष्ट्रपतिबाट संविधानका सीमाहरु उल्लंघन गर्ने काम भयो।’
प्रतिक्रिया लेख्नुहोस्:-