काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । उनीहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ ।
बिहीबार विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए ।
साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको थियो ।
छलफलमा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । ‘उहाँहरुले जुन माग तेस्र्याउनुभएको थियो, त्यसमै केन्द्रित भएर छलफल भयो । भोलि विहान टुंगिन्छ’ उनले भने । शुक्रबार विहान ८ बजे बैठक बोलाइएको मन्त्री गुरुङले भने ।
बिहीबार साँझ भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षकको मागका सबैजसो बुँदामा छलफल भए पनि औपचारिक वार्ता नभएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-