दूरबिन संवाददाता
क्यालिफोर्निया ।
अमेरिकामा बस्ने नेपाली विद्यार्थी र युवा पुस्तालाई समेटेर अगाडि बढिरहेको ह्वाइट जोन क्यालिफोर्नियाको आज सम्पन्न अधिवेशनबाट हरि प्रसाद ओझाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ ।
श्रीराम थापा (काजी थापा)को संयोजकत्व टिकाकुमार पुन र सागर श्रेष्ठ रहेको निर्वाचन समितिले निवर्तमान महासचिव ओझा अध्यक्षमा निर्वाचित भएको जनाएको हो । दुई उपाध्यक्षमा शारदा पराजुली र रविसिंह बस्नेत, महासचिवमा गङ्गादत्त पौडेल, सहसचिवमा अभिषेक ज्ञवाली, कोषाध्यक्षमा चाँदनी रायमाझी, निर्वाचित भएका छन् ।
ह्वाइटजोन क्यालिफोर्नियाका पूर्व अध्यक्ष राजेश थापाका अनुसार आगामी अक्टोबर ६ तारिख बर्कली मरिनामा आयोजना गर्न गइरहेको दसैँ धमाका कार्यक्रममा नयाँ कार्य समितिको औपचारिक घोषणा हुने छ । वसन्तको आगमनमा मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमालाई ह्वाइट जोनले हरेक वर्ष अमेरिकामा भव्य कार्यक्रम गरी मनाउँदै आएको छ । नेपाली विद्यार्थी र युवा पुस्तालाई ह्वाइटजोनले नेपाली कला संस्कृति र चाडपर्वसँग जोड्ने र आपत् विपतमा सहयोग गर्दै आएको छ ।
धनगढीमा जन्मिएका नवनिर्वाचित अध्यक्ष ओझा अमेरिका आएपछि अध्ययनसँगै व्यवसायमा पनि संलग्न छन् । क्यालिफोर्नियामा नेपाली समुदाय र सङ्घ संस्थाका कार्यक्रममा उनले सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-