काठमाडौं । सत्तारुढ दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने भएपछि त्यसलाई काउन्टर दिन नेकपा (एमाले) ले पनि निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति लिएको छ । यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मंसिर ४ मा हुन गइरहेको प्रादेशिक र संघीय निर्वाचनका लागि चुनावी तालमेल गर्न वार्ता टोली गठन गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग आशन्न निर्वाचनमा चुनावी तालमेलका लागि लोसपाले शुक्रबार ६ सदस्यीय वार्ता टोली गठन गरेको हो।
लोसपा नेता लक्ष्मणलाल कर्णले एमालेलगायतका दलहरुसँग चुनावी तालमेलको पहल गर्न वार्ता टोली गठन गरिएको जानकारी दिए।
वार्ता टोलीमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, अनिल झा, सर्वेनद्रनाथ शुक्ल र जितेन्द्र सोनल रहेका छन्।
यसअघि नेपाली कांग्रेसले लोसपालाई पनि पाँचदलीय गठबन्धनसँग चुनावी तालमेलमा सामेल गर्ने प्रयास गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-