काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले पार्टीले आगामी निर्वाचनका लागि आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन नेतृत्वलाई खबरदारी गरेको छ ।
समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए । ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’ उनले प्रश्न गरे ।
पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए । ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो । हामी तपाईकै बाटोमा छौं’ उनले भने ‘कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन। अब टुलु टुलु हेरेर हामी बस्दैनौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-