अमेरिका, सेप्टेम्बर २८ । न्युयोर्कमा रहेका तामाङ समुदायका सबैलाई एउटै सस्थामा आवद्द हुन तामाङ सोसाइटी अफ अमेरिका ६ जना पूर्व अध्यक्षले सामुहिक अपिल गरेका छन् । न्युयोर्कमा अहिले तामाङ समुदायको दुई संस्था सक्रिय रहेको छ ।
तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्कमा स्थापना भएको तामाङहरुको सबै भन्दा पुरानो संस्था हो । सन् २००२ मा स्थापना भएको यो संस्थाका पूर्व अध्यक्षहरु सुबास लामा, राम तामाङ, इन्द्र तामाङ, भरत मोक्तान, सुर्य तामाङ र शान्त थोकरले आफ्नो समुदायको एकताका लागि अपिल गरेका हुन् । सुबास लामा यो संस्थाको सस्थापक अध्यक्ष हुन् ।
६ जना पूर्व अध्यक्षद्वारा जारी सामुहिक विज्ञप्तीमा भनिएको छ,’ सन् २००२ देखि तामाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण र सम्बर्धन गर्दै आईरहेको तामाङ सोसाइटी अफ अमेरिकाले समग्र समुदायको हित र अधिकार प्राप्तिका निमित्त समेत लागि परिरहेको इतिहस हाम्रो सामु छर्लग छ ।‘
सामुहिक अपिलको अगाडि भनिएको छ,’तामाङ सोसाइटी अफ नर्थ अमेरिका संघिय प्रणालीमा जाने निर्णय पश्चात यस “तामाङ सोसाइटी अफ अमेरिका” संस्थालाई वृहत रुपमा अगाडि बढाउनका निमित्त न्युयोर्क वासी तामाङ समुदाय संगठित गर्दै एकीकृत ढंगबाट अघि बढ्नु बाहेक अरु बिकल्प नभएको कुरा हामी सबैले महसूस गरेका छौ । तसर्थ न्युयोर्कमा रहेको तामाङ संस्थाहरुलाई गोवबन्द गर्न हामी तामाङ सोसाईटि अफ अमेरिकाका पुर्व अध्यक्षहरूको तर्फबाट सम्पूर्ण न्युयोर्क वासी तामाङ समुदायलाई तामाङ सोसाईटि अफ अमेरिकामा गोलबन्द हुन यसै आवाहन पत्र मार्फ़त हार्दिक आनुरोध गर्दछौ।‘
सन् २०१७ मा उत्तर अमेरिकामा रहेका सबै तामाङ समुदायलाई एउटै संस्थामा समेट्न खोज्दा न्युयोर्कमा रहेको झण्डै ढेड दशकको इतिहास बोकेको सस्था फुट्न पुगेको थियो । तामाङ सोसाइटी अफ अमेरिकालाई तामाङ सोसाइटी नर्थ अमेरिका नामाकरण गर्ने र सो संस्थामा उत्तर अमेरिकामा रहेका तामाङ समुहदायका संघ संस्थालाई समेट्ने लक्ष्य राखिएको थियो ।
सोही लक्ष्य अनुसार सन् २०१८ मा न्युयोर्कमा भएको सम्मेलनले लक्यान लामाको अध्यक्षतामा कार्यसमिति पनि चयन गरेको थियो । विधान अनुसार त्यस अघि विभिन्न राज्यमा रहेका तामाङ समुदायको संस्था नर्थ अमेरिकाको च्याप्टर सदस्यको रुपमा राखिएको थियो । सोही अनुसार न्युयोर्क च्याप्टरको गठन गर्ने क्रममा विवाद हुदा संस्था फुटेको थियो ।
न्युयोर्कमा भएको भेलाले अध्यक्षमा गोमा योञ्जन र सचिवमा दिपेन्द्र लामालाई चयन गरेको थियो । अन्य पद सहमतिमा पूर्ति गर्ने भनिए पनि लक्यान लामाको टिमले एकलौटी गरेको भन्दै असन्तुष्ट बनेको समुहले सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिका गठन गरेको थियो । तामाङ समाज अमेरिकाले गत साता मात्र आफ्नो पहिलो साधरण सभा सम्पन्न गरेको छ ।
पूर्व अध्यक्ष मध्येका एक भरत मोक्तानले दूरबिन नेपाल सँग कुरा गर्दै समस्याको शुरुवात जहाँबाट भएको समाधान पनि त्यहिबाट खोज्नका लागि अहिले सामुहिक अपिल गरिएको बताए । ‘उत्तर अमेरिकामा रहेका तामाङहरुको संस्थालाई एउटै छातामा राख्न खोज्दा जो जहाँ जसरी चलेका थिए त्यहाँ समस्या आयो, त्यहाँका साथीहरुले हाम्रो संस्थाको पनि अस्थित्व छ, त्यसलाई किन मेटाउने भन्न थाले ।‘
न्युयोर्क बाहेक अन्य राज्यमा पनि तामाङहरुको संस्था अमेरिकाको कानुन अनुसार दर्ता भएर सन्चालनमा छन् । त्यस्ता सस्थालाई नर्थ अमेरिकाको विधानले मात्र बाध्न खोज्दा समस्या उत्पन्न भएको भन्दै हालै भर्जिनियामा भएको साधरण सभाले तामाङ सोसाइटी नर्थ अमेरिकालाई संघीय संरचनामा लैजाने निर्णय गरेको थियो ।
सस्थापक अध्यक्ष सुवास लामाले समुदायका सबैलाई एउटै संस्थामा समेट्नका लागि हामी सबै अध्यक्षबाट नै प्रयास थाल्ने छलफल भएअनुसार आह्वान गरिएको बताए । यस्तै अर्का पूर्व अध्यक्ष इन्द्र तामाङले पनि सबैलाई एउटै ठाँउमा ल्याउन राम्रो कुरा भएको भन्दै त्यसका लागि प्रयास गरिएको बताए ।
पूर्व अध्यक्ष मोक्तानका अनुसार त्यसको अर्थ महासंघको अवधारणा हो । उनले भने,’अब विभिन्न राज्यमा रहेका तामाङका संस्था आ आफ्नो विधान अनुसार नै सन्चालन हुने छन् ।‘ उनले तामाङ सोसाइटी नर्थ अमेरिका भन्ने संस्था नै अब न्युयोर्कमा नरहेको अवस्थामा यो समुदायको सबै भन्दा पुरानो संस्था तामाङ सोसाइटी अफ अमेरिकाकै नाममा सबैलाई समेटिन आह्वान गरिएको बताए ।
यस्तै अर्का पूर्व अध्यक्ष शान्त थाेकरले ‘ सस्थागत भन्दा पनि सामाजिक एकता चाहिएको हो, यदी समाज एक भयो भने संस्था एक हुन सक्छ त्यसैका लागि प्रयास गरौ भन्ने हो । न्युयोर्कमा समाजमा नै विभाजित छ पहिला समाज एक गरौ लागेका हो, त्यसका लागि अहिले उत्तम प्रयास ।’
‘तामाङ सोसाइटी नर्थ अमेरिकाको नयाँ विधानमा संघीयतामा जाने भनिएको छ, त्यो भए पछि संस्थाले आ-आफ्नो स्वायत्तता पाउने भयो, त्यसो हुदाँ न्युयोर्कमा दुई वटा संस्था बन्नु भन्दा अगाडि सक्रिय २००२ स्थापना भएको तामाङ सोसाइटी अफ अमेरिकालाई नै पुन सक्रिय गराउने भन्ने हो ।‘ मोक्तानले भने ।
सन् २००२ मा स्थापना भएको संस्थाको सबै स्वामित्त अहिले गोमा योन्जन अध्यक्ष रहेको समिति सँग छ । तर मोक्तानले तामाङ सोसाइटी नर्थ अमेरिकाको विधान अनुसार पनि गोमा योन्जन अध्यक्ष रहेको समिति विघठित भइ काम चलाउनमा रहेको बताए । ‘गोमा योन्जन अध्यक्ष रहेको समिति अहिले काम चलाउ मात्र हो, अब सानुमायाको अध्यक्षतामा रहेको संस्थालाई पनि हाम्रो आह्वान हो सबै जना एक ठाँउमा बसेर नयाँ समिति बनाएर अगाडि बढौं ।‘
प्रतिक्रिया लेख्नुहोस्:-