लमजुङ, १४ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताउनुभएको छ ।
बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी, दीपावली तथा छठ पर्व २०७६ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।”
प्रमुख सचेतक गुरुङले डलरको पछि नलागी आफ्नो मिहिनेत गर्दै नवऔपनिवेशिक संस्कृतिको विरुद्धमा आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सङ्घीय सांसद, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज यशोदादेवी सुवेदी , साबिक अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज दिव्यचन्द्र सोती लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-