दूरबिन नेपाल
ओमानमा जारी पाँच देश सम्मिलित टी–ट्वान्टी सीरीज अन्तर्गत आफ्नो तेसो खेलमा नेपाल आयरल्याण्डसंग पराजित हुन पुगेको छ । ओमानमा जारी ओमान पेन्टागुलर टी–ट्वान्टी सीरिज अन्तर्गतको सातौं खेलमा टस जितेर आयरल्याण्डले पहिले ब्याटीङ गर्ने निर्णय गरेको थियो । आयरल्याण्डले २० ओभरमा सात दशमलव दुई पाँचको औषत रनरेटमा आठ विकेट गुमाउंदै एक सय ४५ रनको मध्यम स्कोर बनायो । आयरल्याण्डलाई मध्यम स्कोरमा समेटनेक्रममा नेपालका तर्फबाट सन्दिप लामिछानेले २१ रन खर्चेर दुई विकेट लिए भने अविनास बोहराले २२ रन खर्चेर दुई विकेट लिए । नेपालका करण केसी र ललित राजबंशीले समान एक एक विकेट लिए । आयरल्याण्डका पल स्टर्लीङले ४७ बलमा ५९ रनको बिष्फोटक पारी खेले भने एण्डी बलबिर्नीले ३८ र पुछारका ब्याट्सम्यान स्टुवार्ट थम्पसनले २१ रनको योगदान गरे ।
एक सय ४६ रनको मध्यम स्कोरको लक्ष्य सहित मैदानमा उत्रेको नेपाली टोलीका प्रारम्भिक ब्याट्सम्यानको प्रदर्शन औषत रहेपनि मध्यक्रमका ब्याट्सम्यानहरुको प्रदर्शन निराशाजनक रहंदा नेपालले खेल गुमाउन पुग्यो । प्रारम्भिक ब्याट्सम्यान इशान पाण्डेले २२ रन बनाए भने कप्तान पारस खड्काले बिष्पोटक पारी खेल्दै १४ बलमा २५ रनको योगदान गरे । त्यस्तै अरिफ सेखले २६ रन बनाउंदा दिपेन्द्रसिंङ ऐरीले १९ रन बनाए । त्यसपछि लगातार विकेट गिर्दै गएपछि नेपाली टोली संकटमा पर्यो । तर स्टार अलराउण्डर करण केसीले नेपाली टोलीको आशालाई जिवितै राख्दै नौ बलमा १६ रनको आक्रामक ब्याटीङ गरे । तर पुछारका खेलाडीको ब्याटिङ कमजोर हुंदा नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउंदै एक सय ३२ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि मार्क अदैर र जर्ज डक्रेलले तीनतीन विकेट लिए भने गेराथ डेलानीले दुई विकेट हात पारे ।
हारसंगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ भने ओमान र आयरल्याण्ड पहिलो र दोस्रो स्थानमा छन । यसअघि नेपालले नेदरल्याण्ड र हङकङलाई हराएको थियो । अब नेपालले सीरीजको अन्तिम खेल आयोजक ओमानसंग खेल्नेछ । ओमानसंगको खेलमा नेपालले राम्रो रनरेटको आधारमा जितेमा मात्र उपाधि हात पार्नेछ । किनकी आयरल्याण्डले सबै खेल खेलिसकेको छ भने ओमानले एक खेल खेल्न बाँकी छ । नेदरल्याण्ड र हङकङले तीन तीन खेल खेलेपनि अंकविहिन छन ।
प्रतिक्रिया लेख्नुहोस्:-