काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ।
मंगलबार काठमाडौँको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कदको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो। त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविता वाचन गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त साहित्यकार भएको उल्लेख गरे। उनले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाव्यको रुप लिएको पनि स्मरण गरे।
कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्यसम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो। महाकवि देवकोटाको जन्म विक्रम सम्वत १९६६ साल कार्तिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका साहिला छोराको रुपमा जन्मिएका महाकवि देवकोटा शिक्षामन्त्रीसमेत बनेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-