न्युयोर्क । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महेन्द्र राष्ट्रवाद र कम्युनिष्ट राष्ट्रवाद कालापानीमा खुल्दै गएको बताएका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाले शनिवार न्युयोर्कमा आयोजना गरेकाे अन्तर्क्रिया कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्री सिंहले पन्चायत व्यवस्था टिकाउनका लागि तत्कालिन राजा महेन्द्रले कालापानी भारतले कब्जा गर्दा मौन बसेको आरोप लगाए ।
‘हामी पटक पटक महेन्द्र राष्ट्रवादको कुरा गर्छौ खासमा महेन्द्र राष्ट्रवाद भनेको कस्तो रहेछ त्यो त कालाकानीबाट खुल्दै छ ।’ उनले महेन्द्रलाई मुलुक भन्दा आफ्नो सत्ता प्यारो भएकाले भारतीय सेना कालापानी आउदा मौन बसेको आरोप लगाए । यस्तै नेता सिंहले अहिले नेपालको भूभाग भारतले आफ्नो नक्शामा पार्दा नाकावन्दी कुरा गरेर भोट बटुलेको कम्युनिष्ट सरकार के हेर्दै छ भनेर प्रश्न गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले सन् २०१५ मा काँग्रेस सभापति शुशिल कोइराला प्रधानमन्त्री हुदाँ भारत र चीनले नेपाली भुभाग लिपुलेक प्रयोग गर्ने गरि गरेको सम्झौताको तत्काल कुटनीतिक रुपमा त्यो सम्झौताको विरोध गरेको स्मरण गराए । उनले थपे ‘खासमा राष्ट्रवादी को हो त्यो त यसै प्रष्ट भएको छ ।’
नेता सिंहले नेकपाको सरकार संविधानको मर्म अनुसार चल्न नसकेको बताए । उनले वर्तमान दुइ तीहाई सरकारको पालामा अर्थतन्त्र ओरालो लागेको दावी गरे । ‘प्रधानमन्त्रीले म भ्रष्ट्राचार गर्दिन, भ्रष्ट्राचार गर्न पनि दिन्न भन्नु भयो तर सुन काण्ड, वाइडवडी जहाज काण्ड लगायतका ठूला ठूला भ्रष्ट्राचार काण्ड त्यसै सेलाए । ‘ नेता सिंहले सरकारले जनतालाई सुरक्षाको प्रत्यभूति दिन नसकेको आरोप लगाए ।
उनले यो सरकारबाट जनअपेक्षा पुरा हुन नसक्ने ठोकुवा गरे । ‘तपाईहरुलाई यी काँग्रेसी घमण्डी हुन्छन भन्ने लाग्न सक्ला तर अब देश बिकास गर्ने काग्रेसले नै हो ।’ उनले थपे ‘कम्युनिष्टलाई पहिला पनि जनाले जिताएका हुन् तर चार चार जना कम्युनिष्ट प्रधानमन्त्री हुदाँ पनि संविधान जारी हुन सकेन, पछि काँग्रेसकै नेतृत्वमा जारी भयो, अहिले पनि उनीहरुले जनताको चाहाना पुरा गर्न सक्दैनन् ।’ तर उनले अब इतिहास भजाएर मात्र काँग्रेसलाई नपुग्ने भन्दै आन्तरिक लोकतन्त्र र पार्टी सुद्दिकरण हुनु पर्नेमा जोड दिए ।
अमेरिका – अष्ट्रेलिया बस्नेले मेरो विरुद्द भोट मागे
नेता सिंहले विदेशमा रहेका नेपाली प्रति तितो पोखे । एक दुई जना नेता खराव हुदैमा सबै पुरानो पार्टी खराव नहुने भन्दै उनले एतिहासिक पार्टीले गर्न नसकेको परिवर्तन एक दुई जना प्रतिनिधि हुने पार्टीले गर्न सक्छ भन्दै प्रश्न गरे, ‘स्थापित पार्टीलाई त परिवर्त ल्याउन गाह्रो भइरेको बेला नयाँ पार्टीले कसरी सक्छ ?’
उनले परिवर्तनको नाममा विदेशमा बस्नेले आफु विरुद्द भोट भागेको भन्दै दुखेसो गरे । ‘ अमेरिका अष्ट्रेलिया तीर बस्नेहरुले बा आमालाई फोन गरेर यस पटक परिवर्तन गर्न पर्छ त्यहि भएर नयाँ पार्टीलाई भोट दिनु भनेछन, पुरानो पार्टी काम नलाग्ने भन्दै गर्दा तपाईका बा आमा , हजुर बा आमा पनि पुराना भए अब के ति पनि काम लाग्दैनन ?’ गत संसदिय निर्वाचनमा सिंहलाई साझा पार्टीका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए ।
सिंहले विदेशमा बसेर आलोचना गर्दैमा देश नबन्ने भन्दै काम पनि गर्न आग्रह गरे । ‘नेपालमा परिवर्तन गर्न तपाइहरुको अनुभव पनि उपयोगि हुन्छ, त्यसतर्फ तपाइहरु सकारात्मक रुपमा लाग्नु पर्दछ ।’
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले वर्तमान सरकार परपारष्ट्र नीतिमा पूर्ण रुपमा असफल भएको आरोप लगाए । ‘ चुनावमा एउटा पार्टीले जित्छ अर्कोले हार्छ तर देशले हार्न हुदैन, देश बनाउने क्रममा सबै एक ठाँउमा आउनु पर्छ तर अहिले सरकार विदेश नीतिमा असफल भयो, पन्चशिल नीतिबाट डगमगाएको छ ।’
उनले सरकार दिनदिनै संविधानको मर्म भन्दा बाहिर जान थालेको भन्दै विदेशमा रहेका नेपालीले पनि निगरानी गर्नु पर्नेमा जोड दिए ‘कर्मचारीलाई पार्टी सदस्यता हेरेर सरुवा बढुवा गर्ने गरिएको छ,धर्म सस्कृति माथि प्रहार भएको छ, त्यस तर्फ सबैले निगरानी गर्नु पर्छ । ‘
नेता जोशीले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कुनै न कुनै रुपमा नेपाल सँगको सम्पर्कमा राख्नु पर्ने भन्दै त्यस तर्फ काम गर्नेु पर्नेमा जोड दिए ।
नेता सिंह र जोशी गणेशमान फाउण्डेशनद्वारा निर्मित ‘वीर गणेशमान’ चलचित्र प्रर्दशनिका लागि अमेरिका भ्रमणमा आएका हुन् । जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङका अनुसार ‘वीर गणेशमान’ नेपाली राजनीतिका एतिहासिक पुरुष, सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित चलचित्र हो । यो चलिचित्र आइतवार ज्याक्सन हाइटमा रहेको गुल्सन ट्रेरेस (पुरानो ढाका क्लब) मा प्रदर्शनी गरिने छ ।
तस्वीरहरु : इन्द्र तामाङ / न्युयोर्क
प्रतिक्रिया लेख्नुहोस्:-