न्यान्समा पोखरेल र एनसीसीमा सिटौलालाई अगाडि बढाउने सहमति

दूरबिन नेपाल     १५ माघ २०७५, मंगलवार ०९:००    

Anil Baral Real Estate

सानफ्रानसिस्को जनवरी २९

नेपाली कम्यूनिटी सेन्टर (एनसीसी) निर्माणको कामलाई सहज गर्न सानफ्रानसिस्को बे ऐरियाका अगुवाहरू नेतृत्व चयन कम विवादित बनाउन छलफलमा जुटेका छन् । आइतबार दिनभर भएको छलफलमा आगामी निर्वाचनमा नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अध्यक्षमा नारायण पोखरेल र नेपाली कम्यूनिटि सेन्टरेको अध्यक्षमा ईश्वर सिटौलालाई अध्यक्षमा अगाडि बढाउने भद्र सहमति भएको छ । तर केही दाताहरूले यसमा असनतुष्टि जनाएका छन् ।

नेपाली कम्यूनिटी सेन्टर (एनसीसी)को एक महिना पछाडि निर्वाचन हुँदै छ भने नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को दुई महिना भित्र निर्वाचन हुने छ । न्यान्सको अभिन्न अङ्गको रूपमा एनसीसी अगाडि बढिरहेका कारण दुई संस्थाको नेतृत्व सहमतिमा बनाउने प्रयास भएको हो । सिटौला र पोखरेल दुवै न्यान्सको नेतृत्व लिने दौडमा रहेका थिए । बे एरियाका कानुन व्यवसायी यज्ञ नेपालले दूरबिन नेपालसँग कुरा गर्दै भने “दुई जनालाई प्रतिस्पर्धामा उतार्ने भन्दा मिलाएर अगाडि बढाउन सक्दा सामुदायिक भवन निर्माणको कामलाई बल पुग्छ भनेर भद्र सहमति गराइएको हो ।”
सहमति जुटाउन प्रयासरत जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्र धितालले भने “नेपाली समाजलाई एकतावद्ध गरेर अगाडि बढ्दा लक्ष हासिल गर्न सजिलो हुन्छ । व्यक्ति,पार्टी, वाद र विचार भन्दा माथि उठेर मिलाउने प्रयास जारी छ ।” एनसीसीको नेतृत्व गरिरहेका उत्तम कार्की सबै मिलेर जाँदा नेतृत्व र संस्थागत विकास हुन्छ भने नेतृत्व बाहिर बसेर सहयोग गर्न तयार रहेको बताउँछन् । कार्कीले भने “यति ठुलो अभियानमा हामी आपसमा लड्नु र फुट्नु हुन्न मिलेर जाऔँ भनेर प्रयास गरिरहेका छौँ ।”


एनसीसीको नेतृत्व लिन तयारी गरिरहेका पृतेश कार्कीले दूरबिन नेपालसँग भने “वे एरियाका सबैको सहमति जुटिसकेको अवस्था त होइन तर आइतबार भेला भएका मध्ये अधिकांशले मिलेर जानुस् भन्नु भयो । मेरो तयारी र चाहाना हुँदा हुँदै पनि मिलेर जाऔँ भनेर मैले पनि सहमति जनाए ।” नेपाली सामुदायिक भवन एनसीसीको नेतृत्वको लागि अगाडि बढिसकेका पृतेश कार्की लचिलो भएपछि पोखरेल र सिटौलालाई दुई संस्थामा मिलाउने प्रयासले गति लिएको हो । सिटौला र पोखरेलले दुई संस्थामा एकले अर्कोलाई नेतृत्वका लागि निर्विरोध वा निर्वाचित गर्न सहयोग गर्ने भद्र सहमति लिखित रूपमा गराइएको छ ।
दाताहरूको असनतुष्टि
सामुदायिक भवन निर्माणमा सहयोग गर्न ठुलो रकम दिइसकेका र दिने प्रतिबद्धता जनाएका कतिपय आइतबारको भेलामा उपस्थित थिएनन् । एनसीसीमा अहिलेसम्म सबै भन्दा बढी रकम जम्मा गर्ने अनिल पाण्डे, ठुलो सहयोग कबुल गर्ने यज्ञलाल श्रेष्ठ लगायतको उपस्थिति थिएन । कतिपयले बे एरियाका ठुला दाता मध्येबाट न्यान्स र एनसीसीको नेतृत्व दिनु पर्ने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । वे एरियाका युवा उद्यमी युवराज कार्की भन्छन् “केही व्यक्ति मिलेर सहमति गरेको कुरा थाहा भयो । यो राम्रो भएन । सबै भन्दा बढी रकम जम्मा गर्ने अनिल पाण्डे , बढी रकम दिन प्रतिबद्धता जनाउने यज्ञलाल श्रेष्ठलाई अगाडि बढाउनु पर्छ ।” सामुदायिक भवन निर्माणको कामले गति लियोस भन्ने हो भने दाताहरूको भावना र चाहानालाई सम्मान गरिनु पर्ने कार्कीको भनाई छ ।


१५ माघ २०७५, मंगलवार ०९:०० मा प्रकाशित