न्यान्स र एनसीसी नेतृत्वको विषयमा पेचिलो बहस

सानफ्रानसिस्को ,जनवरी ३१ /
नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अध्यक्षमा नारायण पोखरेल र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी)को अध्यक्षमा ईश्वर सिटौलालाई अगाडि बढाउने भद्र सहमति भएको समाचार दूरबिन नेपालमा आए पछि सानफ्रानसिस्को बे एरियामा पक्ष र विपक्षमा पेचिलो बहस सुरु भएको छ । सहमतिको पक्ष र विपक्षमा रहेका समूहलाई समेटेर मङ्गलवार साँझ बृहत् कन्फरेन्सकलको आयोजना भयो । कन्फरेन्सकलमा सहभागी कतिपयले दूरबिन नेपालको समाचार र त्यहाँ प्रकाशित दस्ताबेज माथि टिप्पणी समेत गरेका थिए । बैठकमा ३० जना वक्ताहरूले आफ्ना धारणा राखेका थिए । त्यसमध्ये समाजका केही अगुवाहरूको भनाई यहाँ प्रस्तुत गरिएको छ ।
उत्तम कार्की
अध्यक्ष, नेपाली कम्यूनिटि सेन्टर
हाम्रो उद्देश्य भनेको नेपाली कम्यूनिटी सेन्टर (एनसीसी) निर्माण हो । यसका लागि न्यान्स र एनसीसीमा नेतृत्व मिलाएर पठाउन सकियो भने काम गर्न सजिलो हुन्छ । नेतृत्व लिन अगाडि बढिरहनु भएका दुई जनालाई मिल्नुस् भनेर वार्ता गर्न लगायौँ । त्यस पछि यसमा केही मिलाउन सकिन्छ की भनेर सरोकार राख्ने ५–७ जनाले उहाँहरूलाई राखेर प्रयास ग¥यौ । त्यसपछि १०–१५ जना मिलेर मिलाउन प्रयास ग¥यौ । न्यान्समा जोडिनु भएका कानुन व्यवसायी यज्ञ नेपाल लगायत २५–३० जना बसेर आइतबार मिलाउन प्रयास गरिएको हो । वे एरियाका सबै जना एकै पटक जम्मा भएर मिलौँ मिलाऊ भन्न सम्भव थिएन । ठुलो भेला गर्न आर्थिकको कुरा पनि आउँछ । सबैको भावना र उद्देश्य मिलेर मिलाएर जायौं भन्ने हो भने राम्रो प्र्रयासको सह्राना गह्रौँ । हामीले मात्र होइन सबैले प्रयास गर्न सकिन्छ । बिगार्ने भत्काउने सोचाई कसैको पनि होइन भने हाम्रो रगत पसिना जोडिएको सपनालाई साकार पार्न मिल्नुको विकल्प छैन ।
प्रतीक पाण्डे
पूर्व महासचिव, नेपाली जनसम्पर्क समिति, नर्थ क्यालिफोर्निया
NANC को साधारण सदस्य र पूर्व महासचिव जसको कार्यकालमा NANC को पहिलो एतिहासिक निर्वाचन सम्पन्न भएको थियो त्यस हैसियतमा बोल्नु पर्दा निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि छान्न पाउनु पर्छ भन्ने विश्वास राख्दछु। कोही कुनै संस्थामा पटक पटक विभिन्न पदमा बस्यो भन्दैमा सो व्यक्ति नै सो संस्थाको अध्यक्ष बन्नु पर्ने भन्ने हुँदैन, म यसमा विश्वास गर्दिन। कुनै पनि सक्षम व्यक्तिले आफ्नो दावेदारी प्रस्तुत गर्न सक्छ, सक्षम छ भने जनताले आफ्नो अमूल्य मतदानबाट सो को निर्णय गर्छन्। तर मित्र नारायण पोखरेल जो अहिले अध्यक्षको दाबेदारी गर्दै हुनु हुन्छ उहाँ स्वयम्ले जन सम्पर्कको चुनावमा एउटा यस्तै भेलामा गर्नु भएका तर्कहरू याद आउँछ जहाँ उहाँले भन्नु भएको थियो “पद बढुवा गर्दै हालको बहाल वाला उपाध्यक्षलाई अध्यक्ष र महासचिवलाई उपाध्यक्ष बनाउँदा राम्रो हुन्छ”, अर्थात् उहाँ यो तर्कलाई विश्वास गर्नु हुन्छ। अहिले यो तर्क उहाँको तर्फबाट किन लागु हुन् सक्दैन? तर्कहरू आफ्नो अनुकूल मात्र लागु हुन्छ?
हरिहर दाहाल
पूर्व अध्यक्ष,सन्निसगरमाथा समाज
मैले त्याहा के बोलेँ भन्दा पनि मेरो स्पष्ट बिचार के हो भन्ने कुरा राख्न चाहन्छु। हो ,हामी बसेका थियौँ र म लगायत अधिकांशले भनेका थियौँ कि -१५/२० जना मान्छे एउटा बन्द कोठामा बसेर कुनै निर्णय गरिन्छ भने त्यो निर्णय समग्र बे एरियाको निर्णय हुन सक्दैन ।जो जति यहाँ बसिएको छ,यो यतीका मान्छेको मात्रै बिचार हो भनिएको थियो त्यहाँ।समुदायलाई कसरी मिलाएर लाने ?समाजलाई कसरी टुक्रन बाट बचाउने ?कसरी आपसी समझदारीमा नेतृत्व निर्माण गर्ने ? जस्ता शीर्षकमा सयौँ कोठे बैठकहरू हुनु पर्छ।र हामीले त्यही गरेका थियौँ।यसले समाजलाई अहित गर्दैन ।२/४ जना मान्छेले समाजलाई फन्फनी घुमाउनु हुँदैन ,कब्जा र नियन्त्रणको खेती बन्द गरिनु पर्छ,समाजका हर सदस्यहरूले निर्णय प्रक्रियामा सामेल हुन पाउनु पर्छ भनेर आवाज बुलन्द गर्ने सबैलाई मेरो सम्मान छ।असल मनसायले गरिएका असल प्रयासहरूलाई अतिरञ्जित गरेर आफ्नो अनुकुलतामा व्याख्या गर्ने व्यवसायको अन्त्य गर्न सकियो र बन्द कोठामा बसेर “कब्जा र नियन्त्रण”को जालो बुन्ने प्रबृती र प्रचलनको अन्त्य गर्न सकियो भने यो नै असल समाज निर्माणको सुरुवात हो।बे एरियामा सामुदायिक भवन बनाउने अभियानमा धेरै समय दिन नसकेको र धेरै चन्दा पनि दिन नसकेको हिसाबले मैले यो शीर्षकमा यो भन्दा बढी बोल्नु गलत हुन्छ।
युवराज कार्की
युवा व्यवसायी, सानफ्रानसिस्को बे एरिया
वे एरियामा एउटा समूहले कागजी वार्गेनि गरेर गलत प्रचलनको सुरुवात गर्न खोज्यो । खुला र उदार समाजमा बसेर अनुदार चरित्रका काम र व्यवहारले समाजमा राम्रो सन्देश दिन सक्दैन । सानो समूहको चाहानामा कोठा भित्र गरिने काम भनेको नेपालमा गरिएका १२ बुँदे र ६ बुँदे सहमतिको भद्दा नक्कल मात्र हो । निहित स्वार्थ र चाहानामा गरिने यस्ता कामले समाजमा एकता ल्याउन सक्दैन । न्यान्सलाई माया गर्ने बे एरियावासीको भावना र चाहाना कस्तो छ भनेर बुझ्न छोटो समयको सूचना दिएर मङ्गलवार साँझ आयोजना गरेको कन्फरेन्स कलमा १ सय ५७ जनाको प्रत्यक्ष सहभागिता रह्यो । अरू थुप्रै साथीहरू फोनमा जोडिएर सहभागी हुनु भयो । करिब २ सय जना सहभागी भए पनि समय सीमाका कारण ३० जनाले मात्र बोल्ने मौका पाउनु भयो । १५ लाख डलरको ठुलो प्रोजेक्ट भएका कारण कोठे बैठक होइन चासो र सरोकार भएका साथीहरूलाई जोडेर छलफल गर्न कन्फरेन्सकलबाट सम्भव छ भन्ने सन्देश पनि गएको छ ।
कृष्णराज गिरी, जय निष्ठानवान नेटवर्क
नेपालीहरूको आफ्नै कम्युनिटि सेन्टर बन्छ भनेर दश वर्ष देखि वे एरियामा एउटा सपना बाढिदै छ । त्यति ठुलो परियोजना सफल गर्न आमसमुदायलाई बाहिर राखेर दुईचार जना बसेर आइतबार पद बाँडफाँड गरेको सुनियो । यो संस्थाको विधि विधान र प्रक्रिया विपरीत छ । प्रजातान्त्रिक चरित्र होइन । सहभागिता मूलक परिपाटी हुँदै भएन । दाता र शुभेच्छुक माथि खेलबाड भयो । वे एरियामा सामुदायिक भवन वनोस भन्नेमा ईश्वर सिटौला र नारायण पोखरेल मात्र होइनन् अरू थुप्रै हुनुहुन्छ । हामीलाई कोही व्यक्ति होइन, बजेट जुटाउने र काम गर्न सक्ने प्रतिनिधि चाहिएको हो । राजनीति गर्ने भए जनसम्पर्क र प्रवासी मन्चामा गएर गर्दा हुन्छ । समुदायको हितमा काम गर्नु पर्ने ठाउँमा राजनीति गर्नु हुँदैन ।
यही कम्यूनिटि सेन्टरका लागि भनेर गरिएको महापुराणमा केही व्यक्तिले कोठे मिटिङ गरेर ५२ हजार खर्च देखाए । महापुराणमासँगै काम गर्नेलाई बाइपास गरियो । कोठे बैठक गरेर २५–२६ हजारमा हुने कामलाई त्यत्रो खर्च देखाउनु दाता र भोलेन्टिएर माथिको बेइमानी थियो । महापुराणको नेतृत्व गर्नेले त्यसको जवाफ दिनु पर्छ ।
धनन्जय नरसिंह केसी
वरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिका
कम्यूनिटी सेन्टर अहिलेको टड्कारो आवश्यकता हो । घनप्रसाद दवाडी जी देखी यानराई ,तेज़राई हुँदै रबिन्द्र राईको पालामा समेत सबै साथीहरूले आ -आफ्नो ठाऊबाट काम गरिरहनु भएको छ । म लगायत बे एरियाका साथीहरूले थाहा पायको कुरा नै हो । यसमा उत्तम कार्की लगायत एनसीसीमा बसेर काम गर्ने धेरै युवा साथीहरूको भूमिका छ । यस्तो परियोजनालाई सबै मिलेर आग्रह र पूर्वाग्रहलाई त्यागेर र आफ्नो फ़ाईदा नहेरीकन समाज र संस्थाको फ़ाईदामा लगिनु पर्ने बेलमा हामी आफैले संस्थालाई राजनैतिककरण, गर्ने आफ्नो फ़ाईदा र आफ्नो इगोलाई साँचेर एउटा बन्द कोठाबाट संस्थालाई निर्णय गर्न खोज्नु कदापि प्रजातांत्रिक हुँदैन । र सर्वमान्य पनि हुँदैन । यो सबैको पवित्र सेंटरमा डोनरहरूनै मुख्य पात्र भएकाले सबै डोनर एकैठाऊमा बसाऊ । विस्तृत सरसल्लाह गरी बिना निर्वाचन निकास निकालिनु सबै भन्दा राम्रो हो ।
नारायण पोखरेल
अध्यक्षका प्रत्यासि, न्यान्स
जनवरी २७,२०१९ मा समाजका मान्यजनहरूको उपस्थितमा भएको लिखित भद्र सहमतिमा पूर्णरुपमा सहमत छु । यस सहमतिलाई बढी भन्दा बढी सामाजिक अभियन्ता तथा प्रतिनिधिहरू बिच छलफल गर्दै यसैमा सहमति जुटाउने मेरो प्रयास रहने छ । यसमा फरक मत राख्ने व्यक्तित्वज्यूहरूलाई पनि सम्मान गर्दै थप सहमतिमा ल्याउने प्रयास गर्ने छु । मलाई नेतृत्वमा आउन तपाइहरूले नै सुझाव र सल्लाह दिनु भएको हो । तपाइहरू दुइजना मिलेर जानुस भनेर पनि तपाइहरूले नै सल्लाह दिनु भएको हो । मैले इश्वरदाइलाई बारम्बार भनिरहेको थिए मैले बेलेपछि सकियो । मैले एनसीसीमा सहयोग गर्छु गर्छु । मलाई कुनै सहमति चाहिँदैन भने । यो सहमति लिखित गरौँ भन्नु भयो । म तयार भए । केही साथीले लिखित गरौँ भन्नु भयो । यज्ञ जीले लेख्नु भयो । मैले साइन गरे । म सबैलाई के अनुरोध गर्छु भने यो सहमति नै अन्तिम होइन । ईश्वर दाइ र मैले समाजमा मिलेर जाँदा भोलि केही गर्न सकिन्छ की भनेर गरेको एकता हो । सबै विकल्पमा हामी छलफल संवाद गर्न तयार छौँ । सकेसम्म चुनाव नहोस् भन्ने पक्षमा भएको प्रयास हो ।
बन्धु पोखरेल, सानफ्रानसिस्को
बे एरियामा सामुदायिक भवन बनाउने मूल उद्देश्य प्राप्तिकोलागि समुदायमा सद्भाव, समझदारी र सहकार्य जरुरी छ । त्यस्तो स्थिति सिर्जना गर्न सर्व सम्मत नेतृत्व चयन हुन सक्नु उपलब्धि मूलक हुन्छ । हिंजो केही साथीहरू बसेर गरेको समझदारीलाई बे एरियाको समझदारी मान्न नसकिने कुरा आयो । अब फेरी अर्को प्रयास गर्दा फेरी अर्को कोही छुट्न सक्छ र अबरोध आउन सक्छ । त्यसैले निर्वाचन समितिको तालिका अनुसार उम्मेदवारी दर्ता गरुन्जेल पर्खौँ । अनि उम्मेदवारी दिनेहरूको बिचमा समझदारी गराउन प्रयास गरौँला । समझदारी हुन नसके निर्वाचनमा गई प्रजातान्त्रिक अभ्यास गर्ने कुरा त छँदै छ । सर्वसम्मत नेतृत्व चयनको लागि मैले गर्न सक्ने योगदानकोलागि म सदा तयार छु ।
बैठकमा सहभागीका अनुसार कम्युनिटि सेन्टरका लागि अहिलेसम्म बढी दान सहयोग कोषमा दाखिला गर्ने अनिल पाण्डेले आफू पनि नेतृत्व गर्न इच्छुक रहेको बताएका थिए । सहमतिमा नेतृत्व पाएमा सामुदायिक भवन निर्माणका लागि आफूसँग रहेका ४ वटा भिजन कार्यान्वयन गरी भवन बनाउन सक्ने तर्क पेस गरे । पाण्डेले कम्यूनिटि सेन्टरका लागि अर्थ सङ्कलन गर्न चलाएको राफल कार्यक्रमको हरहिसाव पारदर्शी गर्न माग गरेका थिए ।
अर्का ठुला दाता दिक्पाल केसीले केही दाताहरूको मात्र नाम कम्यूनिटि सेन्टरका सन्दर्भमा जोडिने गरेको गुनासो गरे । उनले आफूले कवोल गरिसकेको ५३ हजार डलर जुटाउन कडा मेहनत गरिरहेको बताए । केसीले सबैलाई मिलाएर विवाद नगरी काम गर्न सुझाव दिँदै कवोल रकम दिने प्रतिबद्धता दोहो¥याए ।
ठुला दाता मध्येका एक राजेश थापाले एनसीसीको नेतृत्वको विषयमा भएको सहमति प्रति आपत्ति जनाए । सीमित व्यक्ति कोठामा बसेर नभई दाता र सहयोगी मनहरूको बिचबाट एनसीसीको नेतृत्व चुन्दा व्यवहारिक हुने धारणा राखे । थापाले नेतृत्व लिन आफू तयार रहेको समेत खुलासा गरे । उनले एनसीसी र न्यान्सलाई तत्काल अलग गरिनु पर्ने तर्क पेस गरेका थिए ।
न्यान्सका वरिष्ठ उपाध्यक्ष ईश्वर सिटौलाले मिलेर अगाडि बढ्दा मेगा प्रोजेक्स सफल गर्न सजिलो हुने बताए । सिटौलाले न्यान्सको नेतृत्व आफ्नो चाहाना भए पनि साथीहरूको चाहानामा एनसीसीको लागि नेतृत्व लिने सहमति पत्रमा हस्ताक्षर गर्नु परेको बताए । न्यान्सका सचिव पृतेश कार्कीले सहमतिको प्रयासलाई गलत ढङ्गले नबुझ्न आग्रह गरेका थिए । उनले सहमति वा निर्वाचन दुवै प्रक्रियामा आफ्ना लागि मान्य भएको बताए ।
कानुन व्यवसायी यज्ञ नेपालले सहमतिको प्रयासलाई सकारात्मक रूपमा लिन र त्यसलाई निरन्तरता दिन आग्रह गरे । न्यान्सका पूर्व अध्यक्ष घन दवाडीले नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट गर्दा संस्थामा सदस्यहरूको सहभागिता बढ्ने र आर्थिक हिसाबले राम्रो हुने बताए । मिल्न सक्दा राम्रो हो भन्दै निर्वाचनबाटै फैसला गर्नु पर्ने भयो भने पनि समाज नभाँडिने दवाडीले तर्क गरेका थिए ।
नेपाली कम्यूनिटी सेन्टर (एनसीसी)को एक महिना पछाडि निर्वाचन हुँदै छ भने नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को दुई महिना भित्र निर्वाचन हुने छ । न्यान्सको अभिन्न अङ्गको रूपमा एनसीसी अगाडि बढिरहेका कारण दुई संस्थाको नेतृत्व सहमतिमा बनाउने वा निर्वाचनबाट टुङ्गो लगाउने भनेर छलफल र प्रयासहरू आ–आफ्नो ठाउँबाट भइरहेका छन् ।
१७ माघ २०७५, बिहीबार ०९:१४ मा प्रकाशित