एनआरएनए अमेरिकाको चुनाव केन्द्रित सदस्यता अभियान सुधारिएको वेबसाइट, संगठित अभियान र परिस्कृत प्रमाणिकरणले बढाउला सदस्यता?

सुजन पण्डित/दूरबिन नेपाल     १८ माघ २०७५, शुक्रबार ०४:०७    

Anil Baral Real Estate

सुजन पण्डित/दूरबिन नेपाल

संगठित सदस्यता अभियान- थोरै सदस्य संख्या

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०१९ मा हुने चुनावका लागि हाल अमेरिका भर एनआरएन नेताहरु सदस्यता अभियानमा जुटेका छन्। कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, महासचिव बिआर लामा लगाएतका अधिकांस पदाधिकारीहरु सक्रिय रुपमै सदस्यता बिस्तार अभियान (membership drive) मा संलग्न भइरहेका देखिन्छन्। यस बाहेक अध्यक्ष डा. पौडेल आफैंले हिजो एक फेसबुक लाईभ मार्फत सम्पूर्ण गैरआवासीय नेपाली-अमेरिकनहरु सहित एनआरएनएको सदस्य बन्न योग्य नेपालीहरुलाई सदस्यता लिन र एनआरएन अभियानको एक अभियानकर्ता/सहयोगी बन्न आव्हान गरेका छन्। डा. पौडेलले गत साल भन्दा यो पाली सदस्य बन्नेक्रम सुस्त भएको छैन भने पनि सदस्य बन्न राखिएका केही मजबुत योग्यता र अवैधानिक सदस्य नियन्त्रण संयन्त्रका कारण समूहगत सदस्य बन्ने, एउटै डिभाइस वा कम्प्यूटरबाट एकैपटक धेरै सदस्य बनाउने संभावना प्राय नभएकोले अब बाँकी १५ दिनमा एकाएक सदस्यहरु थपिएलान् भन्न सजिलो छैन। 

अब सदस्य बन्ने म्याद फेब्रुवरी १५ आउन १५ दिन मात्र बाँकी छ र अहिलेसम्म जम्मा १,३५७ जना मात्र सदस्य भएको देखिन्छ। २०१७ मा १४,५१७ जना मतदाता सदस्य भएको एनआरएनए अमेरिकामा यो पटक त्यति सदस्य पुग्ने हुन् कि होइनन् शंका गर्नु पर्ने भएको छ। गत निर्वाचनकाबेला बनेका १४,५१७  सदस्य जति मात्र सदस्य पुय्राउन पनि दिनको करीब ८८० दरले अझै १३,१६० जना सदस्य बन्नु पर्दछ।अघिल्लो पटक सबैभन्दा धेरै ३,३९४ जना सदस्य भएको टेक्ससबाट आजसम्म ३२१ जनाले मात्र दर्ता गराएका छन्। न्यूयोर्कबाट आजसम्म २९६ जनाले सदस्यता लिएका छन् भने अर्को ठूलो नेपाली समुदायको बसोबास रहेको राज्य क्यालिफोर्नियाबाट आजसम्म  ८६ जनाले मात्र सदस्यता लिएका छन्। ठूला भनिने राज्य र शहरहरुमा पनि सदस्यता बिस्तार अभियानबाट सदस्य बन्ने संख्यामा खासै प्रगति भएको देखिंदैन। 

टेक्ससबाट मात्रै अध्यक्ष पदको पाँच आकाँक्षी 

डालासबाट मात्र वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सुनिल साह, बोर्ड अफ डिरेक्टरहरु डा. अर्जुन बन्जाडे र कृष्ण लामिछाने, प्रवक्ता बिनोद तिवारी, पूर्व उपाध्यक्ष रामसी पोखरेल सहित पाँचजना अध्यक्षको संभावित प्रतिस्पर्धीहरु देखिएको टेक्ससमा अहिलेसम्म सदस्य भएकाहरुको तथ्याँक आहा भन्ने खालको छैन। कार्य समितिका प्राय सबैको सक्रियता, सामाजिक संजाल मार्फत चलाइएको अभियान, नेजाको सक्रियतामा संचार माध्यमहरुले गरेको प्रचार प्रसारका बाबजुद सदस्य बन्नेहरुको संख्या दिनमा सयजना पनि थपिएको छैन। विभिन्न राज्यका एनआरएनए च्याप्टर तथा अन्य नेपाली संघ-संस्थाहरुले आयोजना गर्ने सबैखाले कार्यक्रमहरुमा समेत सदस्यता अभियान संचालन भैरहेका समाचारहरु आइरहे कै छन्। यस अतिरिक्त विभिन्न स्टेट च्याप्टरका पदाधिकारीहरुले पनि मेम्वरसिप-ड्राइभलाई सघाउ पुग्ने कार्यक्रम गर्दै आइरहेका छन्। यति धेरै प्रचार प्रसार पाएको सदस्यता बिस्तार अभियान किन भनेजस्तो सफल नभएको होला भनेर एनआरएनए अमेरिकाका अगुवाहरुले अब चाहिं सोच्नु पर्ने भएको छ। 

टेक्सस च्याप्टरको सक्रियता

प्राय कुनै न कुनै समुदाय परिचालनका कामहरु गरेर सक्रिय देखिएको टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल तथा उपाध्यक्ष द्रोण गौतम पनि स्टेटस्तरमा सदस्यता अभियानमा संलग्न भएको पाइन्छ। ‘एनआरएनएको सदस्य हुनु पनि गर्वको कुरा हो’ भन्ने मान्यता राखेर सबै गैरआवासीय नेपालीहरुलाई सदस्य बन्न अनुरोध गरिरहेका टेक्सस च्याप्टरका अध्यक्ष खरेल हुन् वा नेप्लिज एशोसियसन अफ ह्युस्टनले आयोजना गरेको कालि प्रसाद बास्कोटाको सांगीतिक साँझमा समेत एनआरएनए अमेरिकाको स्टल राखेर सदस्य बन्न आव्हान गर्ने उपाध्यक्ष गौतम हुन्, उनीहरुको उद्देश्य बहुसंख्यक गैरआवासीय नेपालीहरु एनआरएनए अमेरिकामा आबद्द हुन् भन्ने रहँदै आएको पाइन्छ। च्याप्टरस्तरको आगामी नेतृत्वमा अनौपचारिक दाबी गरिरहेका गौतम वा राष्ट्रिय समितिमा पुग्न कोशिस गरिरहेका खरेलहरुको सक्रियताले मात्र टेक्सस राज्यस्तरमा सदस्यता बिस्तार अभियानले गति लिन सकिरहेको देखिन्न। स्टेट च्याप्टरहरुका गतिबिधिका अतिरिक्त राष्ट्रिय समन्वय समितिको तर्फबाट पनि धेरै नेपालीहरु बस्ने शहरहरुमा सदस्यता अभियानलाई प्राथमिकता दिएर समुदायस्तरका अन्तरक्रिया र छलफलहरु चलाउनु उपयुक्त हुनसक्छ। 

करीब १० देखि १५ हजार नेपालीहरुको बसोवास रहेको अनुमान गरिएको टेक्सस कै सबभन्दा ठूलो शहर ह्युस्टनबाट गत निर्वाचनका बेला पनि करीब एकसय जति मात्र सदस्य भएका थिए। बर्ष २०१८ मा एनआरएनए अमेरिकाको धेरै गतिबिधिहरु ह्युस्टनमा भए। एनसीसीको फिजिकल मिटिंग, टेक्सस च्याप्टरको अगुवाईमा दुईवटा सामुदायिक अन्तरक्रिया, नेपाली सामुदायिक केन्द्र तथा पशुपति मन्दिरलाई एनआरएनए अमेरिकाका अध्यक्ष लगाएतका वर्तमान र पूर्व पदाधिकारीहरुबाट आर्थिक सहयोग जस्ता सामुदायिक प्रकृतिका निकै उल्लेखनीय कामहरु भएकाले यो पटक ह्युस्टनमा एनआरएनएको सदस्य बन्नेहरुको संख्या बढ्नु पर्ने हो तर व्यवहारमा त्यस्तो भइरहेको देखिन्न। 

गैरआवासीय नेपालीको साह्रै सानो हिस्सामात्र एनआरएनए अमेरिकाको सदस्य

एनआरएनए अमेरिकाको आफ्नै अध्ययनले समेत करीब २५०,००० को संख्यामा नेपालीहरु भएको अनुमान गरिएको अमेरिकामा अहिले ६ प्रतिशत भन्दा कममात्र एनआरएनए अमेरिकाको सदस्य छन्। दश प्रतिशतले मात्र सदस्यता लिएपनि २५,००० सदस्य सहजै हुनुपर्नेमा १५,००० पुय्राउन समेत धौ-धौ परिरहेको छ। 

नयाँ वेबसाइट केही परिस्कृत र सुरक्षित भएपनि सदस्य बन्ने प्रक्रियामा मोबाइलमा भेरिफिकेसन कोड आउने तर प्रक्रिया अनुरुप इमेल लिंक प्राप्त नहुने वेबसाइटमा रहेको समस्याले पनि कतिपयलाई सदस्य बन्न असजिलो भएको अनुभव सुनिएको छ। टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतम आफैं र यो पंक्तिकारको परिवारको सदस्यले सदस्यता लिनेक्रममा पनि मोबाइलमा प्राप्त भेरिफिकेसन कोड प्रयोग गर्न इमेल लिंक आएन। आएको समस्या तत्काल सम्वन्धित पदाधिकारीहरुलाई जानकारी गराउँदा समेत समस्या समाधान हुनसकेको पाइएन। सदस्य बन्नका लागि आवश्यक प्रक्रियाहरुलाई निकै सहजढंगले इमेल र सामाजिक संजाल मार्फत सहजीकरण गरिरहेको वर्तमान कार्यसमितिका महासचिव लगाएतका सबै पदाधिकारीहरुको सक्रियता भइरहँदा पनि स्वस्फूर्त सदस्य बन्नेहरुको संख्या उल्लेखनीय नहुनु निकै सोचनीय पक्ष भएको छ। 

नेतृत्वका आकांक्षीहरुको सदस्यता अभियान

आफैंले बनाएको आचारसंहिताका कारण चुनाव हुनु एक महिना अगाडिसम्म वर्तमान कार्यसमितिका कसैले पनि आफूलाई चुनाव प्रचारमा लैजान नपाउने व्यवस्थाका कारण औपचारिक घोषणा गर्न नपाएका अध्यक्षका संभावित दाबेदारहरु विभिन्न शहरहरुमा हुने सदस्यता अभियान र नेपाली समुदायका कार्यक्रमहरुमा सहभागी हुन भने निकै हतार गरिरहेका देखिन्छन्। गतसाल देखि नै नेपाली समुदायका कार्यक्रमहरुमा उपस्थिति बढाइरहेका सुनिल साह सदस्यता अभियानका लागि पनि धेरै राज्यहरुमा पुगिसकेकाछन्। हालैका दिनहरुमा डा. बन्जाडे, पूर्व उपाध्यक्ष रामसी पोखरेल, बिनोद तिवारी लगाएतको सक्रियता पनि कम छैन। उनीहरुले आफ्ना हितैषीहरुबीचको जमघटमा नेतृत्वको दाबी गर्न थालिसकेका छन्। 

नेपालीहरुको धेरै बसोवास भएका क्षेत्र/शहरहरुमा आफैं उपस्थित भएर वा आफ्नो सामाजिक संजाल एकाउण्टबाट समेत सदस्य बन्न आव्हान गरिरहेका सबैजसो एनआरएन अगुवाहरुको सक्रियता यो पटक अलि संगठित र पारदर्शी देखिंदै छ। 

सदस्यता भेरिफिकेसन

अघिल्ला चुनावहरुमा नक्कली सदस्यता बिवादमा धेरै अल्झेको एनआरएनए अमेरिका यो पाली सकेसम्म नक्कली सदस्य बिवाद नआओस् भनेर केही सचेत देखिएको छ। सदस्य बन्ने बेलामा नै स्क्रीनिंग पद्दति सुधारिएको, फोटो सहितको परिचय खुल्ने आधिकारिक कागजात र निवेदकको तस्बिर समेत अपलोड गर्नु पर्ने प्रावधानका अतिरिक्त एउटा इमेल र फोन नम्बर एकपटक मात्र प्रयोग गर्न पाइने, मोबाइलमा आएको भेरिफिकेशन कोड राखेपछि मात्र सदस्यता शुल्क बुझाउन सकिने व्यवस्थाका कारण गलत व्यक्तिहरु सदस्य बन्ने-बनाउने काम नहोला भन्ने अनुमान गरिएको छ। 

सदस्यता बिवाद न्यूनीकरणका लागि हालै न्यूयोर्कमा सम्पन्न फिजिकल मिटिंगबाट एनआरएनए अमेरिकाले उपाध्यक्ष राम कुमार सुवेदीको संयोजकत्वमा सहकोषाध्यक्ष पवन योन्जन र मिडिया कोअर्डिनेटर बाल जोशी सदस्य रहेको भेरिफिकेसन कमिटी समेत बनाएको छ। सो कार्यसमितिले काम थालिसकेको र दर्ता भएका सदस्यहरुको प्रमाणिकरण स्वतन्त्र र निश्पक्ष ढंगले गरिरहेको समितिका सदस्य बाल जोशीले बताएका छन्। आगामी निर्वाचनमा उम्मेदवार नहुनेगरि भेरिफिकेसन कमिटीमा रहेकाहरुले गर्ने सदस्यता प्रमाणिकरण प्रक्रिया बिवादमुक्त हुन सक्यो भने सदस्यता बिवादमा अल्झिरहने समस्याबाट एनआरएनए अमेरिकाले मुक्ति पाउने छ। सदस्यता प्रमाणिकरणमा अधिकतम सुद्धता अपनाइने प्रतिबद्धता सहित काम थालेको समितिका एक सदस्य जोशीले फेसबुकमा स्ट्याटस नै लेखेर आफ्नो तर्फबाट भेरिफिकेसनमा उच्च नैतिकता र इमान्दारिता हुने प्रतिबद्धता दोहोय्राएका छन्। कुनै किसिमको दबाव र हस्तक्षेप नहुने र त्यस्तो भयो भने तत्काल समितिबाट बाहिरिने भन्दै फेसबुक-घोषणा गरेका जोशीको भनाई र गराइको नतिजा केही समयमा नै देखिने पक्का छ। उनले भनेजस्तै नक्कली र प्रायोजित व्यक्तिहरु सदस्यहरु हुन पाएनन् भने एनआएनए भित्र नेतृत्वमा पुग्नैका लागि सदस्यता बितरणमा हुने अवान्च्छित गतिबिधि त्यसै सेलाउने निश्चित छ। 

नेतृत्वमा आउने भए गाली खान तयार हुनुपर्ने

अध्यक्ष पौडेलले भनेजस्तो ‘गाली खान तयार हुनेले मात्र नेतृत्वमा आउने चाहना राखेहुन्छ’ भन्ने स्थिति आउन नदिन निर्दिष्ट कार्यदिशा र सर्वसाधारण गैरआवासीय नेपालीहरुको हित केन्द्रित योजना सहित नेतृत्वमा आउन चाहनेहरुले सदस्यता अभियान देखि नै शुद्धिकरण अभियानमा लाग्नु उपयुक्त हुनसक्छ। नेपाली समुदायले पनि नेतृत्वलाई स्वस्थ आलोचना र सकारात्मक सहयोग गरेमात्र एनआरएन अभियानले सकारात्मक दिशा लिन सक्ने छ। नेतृत्वका राम्रा कामहरुलाई समर्थन र कार्यान्वयनमा देखिएका सुधार आवश्यक विषयमा सकारात्मक आलोचना गर्न सके मात्र एनआरएनलाई सबै गैरआवासीय नेपालीहरुको साझा संस्था बनाउन सकिन्छ। नेतृत्वलाई खबरदारी गर्ने हो, नराम्रो गरे खरो आलोचना सहित सुध्रन भन्ने हो, न कि किनारामा बसेर खुच्चिंग भनिरहने र मौका पाउने बित्तिकै नांगेझार पार्नतिर लाग्ने। 

एनआरएनए केही हुनेखानेहरुको मात्र हो भन्ने आम धारणालाई परिवर्तन गर्न सर्वसाधारण अमेरिकी-नेपालीहरुको हितमा एनआरएनए अमेरिकाले गर्ने सबैखाले कामहरु महत्वपूर्ण हुन्छन्।नेतृत्वमा आउन चाहनेहरुले पनि आफूलाई गैरआवासीय नेपाली समुदायको हितमा कामगर्न केन्द्रित गर्न थाले भने सदस्यता बिस्तार आफैं हुन्छस्वस्फूर्तरुपमा एनआरएनएको सदस्य बन्ने वातावरण बन्छ।। र, नेतृत्वमा पुग्न प्रायोजित सदस्यहरुको सहारा लिइरहनु जरुरी नै हुन्न। सुदृढ र समुदायको हितपरस्त नेतृत्वको लागि नेतृत्वमा भएकाहरु र नेतृत्व लिन चाहनेहरुलाई जगाईरहने भूमिका सबै एनआरएनहरु र एनआरएनए अमेरिकाका साधारण सदस्यको पनि हो भन्ने कुरा भुलिएन भने अबको एनआरएनए अमेरिकालाई दिग्भ्रमित हुनबाट सजिलै बचाउन सकिन्छ 

[email protected]


१८ माघ २०७५, शुक्रबार ०४:०७ मा प्रकाशित