एनआरएन अमेरिका : आफू हिरो देखिन संस्था बदनाम बनाउने प्रयास पत्रकारकाे खाेल ओडेर संघ सस्थामा दादागिरी 

बिष्णुहरि घिमिरे     १९ माघ २०७५, शनिबार १३:२६    

Anil Baral Real Estate
बिष्णुहरि घिमिरे
अमेरिका  । गैर आवासीय नेपाली सङ्घ अमेरिका अहिले सदस्यता विस्तारको क्रममा छ । सदस्यताकै विषयलाई लिएर संस्थालाई बदनाम बनाइँदै आएको छ । चुनाव जित्न फर्जि व्यक्तिलाई सदस्यता बनाइएको आरोप लगाउने गरिन्छ । त्यो आरोप लगाउनेमा प्रायशः चुनाव हारेका उम्मेदवार हुन्छन् । आफूले जिते ठिक हारे बेठिक भन्ने प्रवृत्ति नेपाली समाजको रोग नै हो । त्यो भन्दा ठुलो समस्या आफू पदमा नभए संस्था नै खत्तम भन्दै बदनाम गराउन खोजिन्छ ।

 

एनआरएन अमेरिकाको यस अघिका निर्वाचनमा फर्जि सदस्य बनाइए भनेर थुप्रै आरोपहरू आए तर को-को फर्जि हुन भनेर तोकेर लेख्ने हिम्मत अहिले सम्म कसैले गरेको छैन । कुन अयोग्य व्यक्ति एनआरएनको सदस्य बन्यो र उसले मतदान गर्‍यो भनेर किटान हुँदैन । होलसेलमा आरोप लगाउने गरिन्छ । नेपालको संविधानले दुई वर्ष भन्दा बढी समय दक्षिण एसिया भन्दा बाहिर बसेका नेपालीलाई एनआरएन भनी सम्बोधन गरेको छ ।

 

पछिल्लो निर्वाचनमा कार्यसमितिकै व्यक्ति अध्यक्षको प्रतिस्पर्धामा थिए । कुनै पनि प्रतिस्पर्धीले निर्वाचन अगाडि यो-यो व्यक्ति विधान सम्मत एनआरएनको सदस्य हुन अयोग्य हो तर उ कसरी सदस्य भयो भनेर सार्वजनिक गर्ने हिम्मत गर्न सकेनन् । सबैले आ-आफ्नो क्षेत्रमा मिले सम्म सदस्य बनाए । तर जब चुनावको नजिता आयो त्यस पछि हार्नेहरूले सदस्यको वैधानिकतामा आवाज उठाउन थाले । एक थरी उम्मेदवार अदालत पुगे भने केही बक्तब्यवाजी गराउँदै संस्था बदनाम गराउन सक्रिय भए ।

 

एनआरएनले सदस्यता वितरण पछि त्यसको अन्तिम निर्णय कार्यसमितिको बैठकले गर्ने गर्दछ । कार्यसमितिको बैठकमा यति जनालाई फर्जी सदस्यता दिइयो भनेर नोट अफ डिसेन्ट लेख्ने कुनै पदाधिकारी अहिले सम्म सार्वजनिक हुन सकेका छैनन् । तर होलसेलमा हार्डड्राइभ र पेनड्राइभको ट्याग झुण्डाउदा त्यसको प्रत्यक्ष असर संस्थामा देखिएको छ ।

 

एनआरएन अभियानमा खबरदारी गरेको भन्न रुचाउने र अहिले सदस्यता छानबिन सुपरिवेक्षण समितिमा रहेका सञ्चारकर्मी शैलेश श्रेष्ठ विगतका गतिविधिले संस्थाको विश्वसनीयतामा ह्रास आएको र त्यसको भागीदार सञ्चारकर्मी पनि रहेको स्वीकार्छन । “विगतका अनियमितता, पारदर्शिताहरूका अभाव र तथाकथित “हार्डड्राईभ” हौवा र फोबियाले यो सङ्गठनको विश्वसनीयतामा भारी ह्रास आएको पक्का हो र बिना आधार र प्रमाण त्यस्ता फोबियाहरु पस्किरहने हामी सञ्चार पनि धेरथोर त्यस्ता दोषहरूका भागीदार छौँ ।”

 

विगतका आलोचना मत्थर गर्ने नाममा एनआरएन अमेरिकाले यस पटक सदस्य बन्ने व्यक्तिले अमेरिकी सरकारले दिएको आधिकारिक आइडी कार्ड अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरेको छ । सो आइडी कार्ड वा सवारी चालक अनुमति पत्रमा सोसियल सेक्युरिटी नम्बर बाहेक सबै विवरण हुन्छ । अमेरिकामा नाम, ठेगाना र जन्ममितिका आधारमा धेरै कामहरू इन्टरनेट र फोनबाट पनि गर्न सकिन्छ । यस्तो अवस्थामा आफ्नो व्यक्तिगत विवरण बाहिरिने आशङ्काले धेरै व्यक्ति अहिले एनआरएन अमेरिकाको सदस्य बन्न हच्किएका छन् ।

 

त्यसै पनि एनआरएन अमेरिकालाई विवादमा ल्याउने प्रयास गरिन्छ । सर्वसाधारणहरू विदेशमा आएर पनि विवादमा किन पर्ने भन्दै सदस्य बन्न पन्छिने गर्छन् । विभिन्न तथ्याङ्कहरूले अमेरिकामा लगभग तीन लाख नेपाली बस्ने देखाएको छ । तर यस अघि करिब १७ हजार मात्र एनआरएनको सदस्य बने । यो संस्थालाई कम विवादित बनाएर सर्वसाधारण माझ विश्वासिलो बनाउनु पर्नेमा अगुवाहरू व्यक्तिगत स्वर्धालाई प्राथमिकता दिँदा यस्तो स्थिति आएको हो ।

 

यस पटक त्यसै पनि सर्वसाधारणले एनआरएनको सदस्य किन बन्ने ? आफ्नो व्यक्तिगत विवरणको सुरक्षा कसरी हुन्छ भन्ने चासो र चिन्ता व्यक्त गर्दै गर्दा, सदस्यता छानबिन समितिकै सदस्यले धम्कीपूर्ण भाषामा सामाजिक सञ्जालमा वक्तव्य बाजी गर्दै भ्रम छर्न खोजेका छन् । एनआरएन सदस्यता छानबिन समितिका सदस्य मध्येका एक बाल जोशीले गएको मङ्गलवार आफ्नो लामो स्टाटस धम्कीपूर्ण रूपमा टुङ्गाए ।

 

“संस्थालाई मर्यादित बनाउन र गलत मनसायले सदस्य बनाउने प्रवृत्तिलाई जरो देखि नै उखेलेर फाल्ने यो अभियानमा यदि कुनै थाम्नै नसकिने अवरोध सिर्जना भए वा गराइए सार्वजनिक रूपमा सम्पूर्ण विवरण खोली आन्तरिक प्रमाणीकरण समितिको जिम्मेवारीबाट आफूलाई मुक्त गर्ने छु ।”

 

सदस्यता छानबिन जारी रहेको समयमा जोशीले कुन कुन व्यक्तिले के कस्तो अवरोध वा दबाब दिए भन्ने खुलाएका छैनन् । सर्वधरणका लागि झन् अन्योल उत्पन्न गराउने उनको यो स्टाटसको पछाडि उनी आफू “हिरो” भन्ने मोहले काम गरेको देखाउँछ ।

 

एनआरएन अमेरिका सदस्यता छानबिन समितिका संयोजक रामकुमार सुवेदीका अनुसार जोशीले समिति समक्ष अस्वाभाविक माग राखेका थिए । जोशीले एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा जन विश्वास नरहेको र सदस्य विस्तारमा चलखेल गर्न सक्ने भन्दै संस्थाको वेबसाइट तथा बैङ्किङ कारोबार समितिको नियन्त्रणमा हुन पर्ने माग गरेका थिए । तर त्यसलाई समिति संयोजक सुवेदी र अर्का सदस्य पवन योञ्जनले अस्वीकार गरिदिए । निर्वाचित कार्यसमितिले दिएको जिम्मेवारी भन्दा बाहिर जान नसक्ने सुवेदी र योञ्जनको ठहर थियो ।

 

यसै बिचमा जोशीले एकल रूपमा नै जनवरी ३१ तारिख भित्र संस्थाको वेबसाइट र बैङ्किङ कारोबारको स्वामित्व हस्तान्तरण गर्न भन्दै निर्देशनात्मक शैलीमा कार्यसमितिमा पत्र लेखे । जुन पत्रको आलोचना भए पछि सुवेदीले संयोजक बाहेक अन्य सदस्यले पठाएको पत्रलाई आधिकारिक नमान्न भन्दै अर्को पत्र पठाउनु परेको थियो । त्यस पछि जोशीले फेसबुक मार्फत धम्कीपूर्ण आक्रोश पोखेका हुन ।

 

संयोजक सुवेदी सामाजिक सञ्जालमा कसले के लेख्यो भन्ने कुराले अर्थ नराख्ने बताउँछन्, “राजीनामा समाधान हैन, सही सदस्य छनोट उपयुक्त उपाय हो भन्ने कुरामा समिति अहिले विश्वस्त छ, सामाजिक सञ्जालमा कसैले व्यक्तिगत रूपमा के लेख्यो भनेर केही अर्थ लाग्दैन र समाधानको बाटो पनि होइन ।”

 

सञ्चारकर्मी तथा सदस्यता सुपरिवेक्षण समितिका सदस्य शैलेश श्रेष्ठ कानुनी निकाय बाहेक अन्य सँग निर्वाचित समितिको वैधानिकतामा प्रश्न गर्ने अधिकार नरहेको बताउँछन् । “यो निर्वाचित कार्यसमितिलाई कुनै कानुनी निकायले औपचारिकरुपमा अवैधानिक नभनिन्जेल यसले आफ्नो वैधानिकता गुमाउँदैन । सतही आरोपहरू आउना साथ संस्था अवैधानिक हुने र व्यक्ति अपराधी हुने हुँदैन ।”

 

जोशी एनआरएन अमेरिकाको मनोनीत मिडिया संयोजक हुन् । मिडिया संयोजकको काम संस्थाको फेस सेभ गर्ने हो न की आफैले रडाको गरेर त्यसलाई बाहिर ल्याउनु । उनले जसले आफूलाई मनोनीत गरेको हो उसैको विश्वास नहुने तर्क गरे र त्यसलाई सामाजिक सञ्जाल मार्फत भ्रम फैलाउने काम गरे । जबकि उनले आफू निकै नैतिकवान भएको पनि स्टाटसमा स्वघोषणा गरेका छन् । कार्यसमितिले जघन्य अपराध गरेको छ र त्यसमा असहमति रहने हो भने सोझै राजीनामा दिएर यो कारण म पदमा रहन सकिन भन्न सकिन्छ । तर जोशी पत्रकारको भेषमा मोलतोल बढाउँदै छन् । पत्रकार राजेश मिश्र यसलाई दोहोरो मापदण्ड भन्दै टिप्पणी गर्दछन् ।

 

“कुनै संस्थाको कुनै समिति गलत ढङ्गले बनेको छ भने, त्यस्तो गलत समितिमा पत्रकार किन बस्ने? उसले त गलत कुरा बाहिर ल्याउने हो। तर समितिमा पनि बस्ने, अनि ‘गलत रूपले गठित समितिको कुरा मान्न म बाध्य छैन’ भनेर घुर्की पनि लगाउने काम दोहोरो मापदण्डको नमुना हो।”

 

मिश्र थप्छन् ” पत्रकारिता ईमान्दारीमा आधारित हुनुपर्छ। यो कुनै व्यक्ति विशेषको अभिष्ट पुरा गर्ने हतियार हुनुहुँदैन। पत्रकारले आफ्नो व्यक्तिगत महत्वकांक्षा त्यागेर काम गर्ने हो भने समाजका कथित नेताहरूले धुर्त्याईं गर्ने सम्भावना आफै न्यून भएर जान्छ। तर समस्या के हो भने सबै जना अहिले आफ्नो गन्तव्यमा पुग्न निष्ठालाई स्वार्थको बलिबेदीमा होमिदिन अलिकति पनि असहज महसुस गर्दैनन्।”

 

जोशीले एनआरएन कार्यसमिति भन्दा आफू ठुलो हो भन्ने देखाउने काम शुक्रवारको अर्को पोस्टबाट गरे । उनले एनआरएन अमेरिकाको वेबसाइटमा सदस्य बन्न समस्या भएको भए आफूलाई सम्पर्क गर्न भन्दै व्यक्तिगत इमेल र फोन नम्बर पोस्ट गरे । संस्थाको सदस्य बन्नका लागि व्यक्तिगत इमेल र फोन नम्बर माग्नु गलत भएको शैलेश श्रेष्ठको भनाई छ ।

 

“अधिकार सम्पन्न समितिहरू निर्माण भई त्यस अन्र्तगत पनि संयोजकहरू तोकी काम कारबाही अगाडि बढाई सकिएको अवस्थामा आन्तरिक प्रमाणीकरण समिति या सुपरिवेक्षण समितिका सदस्यले फरक फरक ढङ्गले निजी सम्पर्क बढाइरहन या निजी सूचना मागी रहन आवश्यक छैन ।”

 

तर जोशी सहजीकरणका लागि आफूले व्यक्तिगत सम्पर्क गर्न भनेको बताउँछन् । “गुनासो धेरै आए पछि मैले सहजीकरणका लागि फेसबुकमा राखेको हुँ ।”

 

जोशी अहिले सेतो पाटी डट कम अमेरिकाको ब्युरो प्रमुख हुन । एनआरएनमा जोशी मिडिया कोअर्डिनेटर भन्दा पनि पत्रकारकै रूपमा बढी प्रस्तुत हुने गरेको कार्यसमितिका सदस्यहरूको गुनासो छ । “जोशी जीलाई म एनआरएनको मनोनीत मिडिया कोअर्डिनेटर हु, मेरो जिम्मेवारी यो-यो हो भन्दा पनि म सेतोपाटीको सम्पादक हु र पत्रकार एनआरएन पदाधिकारी भन्दा ठुलो हुन्छ भन्ने भ्रम छ, प्रायशः उनी धम्की, घुर्की र दादागिरी देखाउन खोज्छन् ।”

 

त्यसो त जोशी आफै एनआरएनको सुद्धिकरणमा लागेको दाबी गर्दछन् । “एनआरएनलाई पारदर्शी बनाउने कुरामा कसैले दादागिरी भन्छ भने दादागिरी नै सही, मेरो उद्देश्य हिजो भएको भनिएको फ्रड रोकौँ भन्ने हो ।”

 

तर राजेश मिश्र पत्रकार आफैमा एक पूर्णकालीन सामाजिक अभियन्ता भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन उसलाई आफ्नो कर्म नै काफी हुने बताउँछन् । “उसलाई अन्य सङ्घ वा संस्थाको सदस्यता किन आवश्यक पर्‍यो र ? पत्रकारितामा शक्ति हुन्छ। त्यो शक्तिको ढाल बोकेर अन्य संस्थामा छिर्ने र आफ्नो दबाब कायम गर्न खोज्ने अभिप्राय भनेको खुला राजनीतिक मोलामोलाहिजा हो। पत्रकारको अन्य कुनै पनि संस्थामा आबद्दताले उसको स्वार्थ बाझिने परिस्थिति निम्त्याउन सक्छ।”

 

मिश्र माछा परे दुलामा हात, सर्प परे दुला बाहिर हात गर्न नहुने बताउँछन्, ” एउटा पत्रकार कुनै संस्थामा रहनै हुन् भन्ने कुरा पनि होइन। यो व्यक्तिगत स्वतन्त्रता र निष्ठाको कुरा हो। यद्दपी, पत्रकारिताको आवरणमा कसैले ‘माछा परे दुलामा हात, सर्प परे दुला बाहिर हात’ गर्छ भने उसको नैतिक धरातलमाथि प्रश्न उठाउने अवस्था आउन सक्छ।”

 

जोशी तिनै ब्यक्तिहुन जसले नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको सदस्य हुँदा झन्डै नौ महिना नेजाको वेबसाइट क्रयास गराएका थिए । उनले नेजा वेवसाइडको स्तरोन्तरको जिम्मा लिए पनि साइड नबनेको कारण नेजाले पछि अर्को व्यक्ति मार्फत पुन शुल्क तिरेर वेबसाइट रिकभर गर्नु परेको थियो । एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटर नियुक्त भए पछि जोशिले नेजा कार्यसमिति सदस्यबाट राजीनामा दिएका थिए ।

 

नेजाका अध्यक्ष सुदिप पन्त नेजाले प्रवासी समाजलाई बलियो बनाउँदै पहिचान सहितको समाज रूपान्तरणमा पत्रकारहरूले कलम चलाउनु पर्छ भन्ने मान्यता लिएको बताउँछन् । “नेजाले आफ्नो सदस्यहरूले गरेको ,गर्न चाहेको इमानसहितको सकारात्मक पत्रकारिताद्वारा सामाजिक परिवर्तन गर्ने भूमिकाको लागि एकबद्दता प्रकट गर्ने हो । तर गुटमा विभाजन हुने, पीत पत्रकारिताद्वारा समाजमा गलत सन्देश दिन खोज्ने पत्रकारहरू वा त्यस्तै रोगले ग्रसित सस्थाहरुलाई नेजाले समर्थन गर्दैन । ”

आगामी दिनमा प्रमुखले मात्रै गर्ने भन्ने पत्र सम्बन्धित निकायमा पठाई सकेको छु ।
राम कुमार सुबेदी प्रमुख, सदस्य प्रमाणीकरण समिति एवं उपाध्यक्ष एनआरएन अमेरिका 
सदस्यता छानबिन समितिका सदस्य बाल जोशीले सामाजिक सञ्जाल मार्फत धम्की दिए पछि दूरबिन नेपालले एनआरएन अमेरिका उपाध्यक्ष एवं  सदस्य प्रमाणीकरण समितिका संयोजक रामकुमार सुबेदी सँग कुराकानी गरकाे थियो । साेही कुराकानीको संपादित अंश ।
एनआरएन अमेरिकाले गठन गरेको सदस्यता छानबिन समितिका सदस्यले काम गर्ने क्रममा अनुचित दबाब आएमा राजीनामा दिने छु भनेर सामाजिक सञ्जालमा धम्की दिनु भएको छ । को बाट के कस्तो दबाब आएको हो ?
सुवेदी : दबाब कसैले दिएको छैन, हामीलाई साधारण सभाले निर्देश गरे अनुरूप कार्यसमितिले नियुक्त गरेको हो  । दबाब हामीलाई सदस्यहरूबाट छ सही छानबिन गरी सही सदस्य प्रमाणित होस् भन्ने यसमा यो समिति चुक्ने र झुक्ने छैन । राजीनामा समाधान हैन सही सदस्य छनोट उपयुक्त उपाय हो भन्ने कुरामा समिति अहिले विश्वस्त छ । सामाजिक सञ्जालमा कसैले व्यक्तिगत रूपमा के लेख्यो भनेर केही अर्थ लाग्दैन र समाधानको बाटो पनि हैन ।
सदस्यता बन्ने क्रम जारी नै छ, छानबिन समितिका सदस्यबाट नै यस्तो कुरा सार्वजनिक हुँदा सदस्यता अभियान प्रभावित हुँदैन ?
सुवेदी : एउटै बाऊ आमाकै सन्तान त फरक फरक हुन्छन्, आफ्नै हातका औँला त फरक हुन्छन् भने हामीमा पनि असहमति होलान् तर असहमतिका बाबजुद संस्था र सदस्यको दिगो लाभ र आवश्यकताको परिपूर्तिमा हामी एकमत छौँ । समितिका सदस्यको असहमति पनि हैन सदस्य निर्माण र प्रमाणीकरणमा कसरी व्यवस्थित, उत्तरदायी र सही सदस्यको छनोट गर्न सकिन्छ भन्ने चिन्ता हो ।
छानबिन समितिले एनआरएन अमेरिका केन्द्रीय समिति सँग पे पल र अन्य बैकिड्ग विवरणको स्वामित्व मागिएको भन्ने आयो यो प्रकरण के हो ?
सुवेदी : छानबिन समितिले कुनै आवेदकको पे पल वा बैङ्किङ विवरण माग्ने छैन र माग्ने हक पनि छैन, व्यक्तिको निजतालाई सदा सम्मान गर्नेछ  । तर कार्यसमितिसगं सदस्यता बापत बनेको जम्मा रकम मागेको हो र मागिनेछ सीर्फ सदस्य सङ्ख्या र आम्दानी रकम मिलेको छ की छैन भनेर हेर्न मात्रै हो, यसमा निश्चिन्त हुनुहोस् ।
बाल जोशीले लेख्नु भएको पत्र समितिको निर्णय भएर लेखेको होइन र ? 
सुवेदी : हामी बिचमा विषयमा कुरा भएको हो तर पत्राचार बारेमा हैन पत्राचार गर्नु भएको देखिएपछि आगामी दिनमा प्रमुखले मात्रै गर्ने भन्ने पत्र सम्बन्धित निकायमा पठाई सकेको छु र उहाँको पूर्व पत्रलाई सम्बोधन गर्दै मैले छुट्टै पत्राचार गरिसकेको छु ।
समितिका कामकार्वाही औपचारिक निर्णय गरी बैधानीकरूपमा आउनु पर्ने होइन र व्यक्तिगत रूपमा नै माग्न मिल्छ ?
सुवेदी : सुरुमा केही अन्योल देखिएको हो अहिले अन्योल छैन, समितिका हरेक निर्णय, प्रगति, अध्यावधिक दिने काम र पत्राचार गर्ने काम प्रमुख संयोजकबाट मात्रै हुनेछ । यसमा समितिका सबै सदस्य सहमत हुनुहुन्छ र मनन गर्नु भएको छ ।
तपाइहरूलाई अरूको विश्वास हुँदैन भने तपाइहरूलाई पनि विश्वास गर्ने आधार के ?
सुवेदी : हेर्नुस् म एन आर एन अमेरिकाको आउने चुनावमा भाग लिन्न, म एउटा यस्तो पारिवारिक पृष्ठभूमिमा आएको हुँ, मेरो परिवारको इज्जतलाई धुमिल हुन दिन्न र समितिका अन्य सदस्यहरू पनि हरेक कोणबाट काविल हुनुहुन्छ उहाँहरूको पृष्ठभूमि उच्च छ अतः विश्वास गर्नुस् संस्थाको दिगो स्थायित्व र सदस्यको हकका लागि कुनै असर बाँकी राख्ने छैनौँ , अब त विश्वस्त हुनुस् ।
सदस्यता बन्ने क्रममा थुप्रै प्राविधिक समस्या आएका छन् त्यस्तो समस्या हल गर्न संस्थागत रूपमा हल गर्ने संस्थागत रूपमा आह्वान गर्ने कि समितिका सदस्यले व्यक्तिगत फोन नम्बर र इमेल दिएर मलाई सम्पर्क गर भन्ने ? संस्था भन्दा व्यक्ति ठुलो र विश्वासिलो हुन्छ ?
सुवेदी : असल मनसायले कुनै काम गर्दा पनि विधि, प्रक्रिया नपुगी झट्ट कुनै काम गर्दा त्यसले समाजमा सकारात्मक वा नकारात्मक दुवै प्रभाव पर्छ । तर आगामी दिनमा हामी यस्ता कुराहरूमा सजग हुनेछौँ र अघि नै भनेँ समितिका हरेक कामकारबाहीहरूको जानकारी र पत्राचार समितिका सदस्यहरूको सहमतिमा प्रमुख संयोजकबाट हुनेछ ।

१९ माघ २०७५, शनिबार १३:२६ मा प्रकाशित