लस एन्जलसमा मार्च १७ मा होली पर्व मनाइँदै

दूरबिन नेपाल     २४ माघ २०७५, बिहीबार १५:२७    

Anil Baral Real Estate

अमेरिका, ७ फेब्रुअरी/ मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टरले होली पर्व मनाउन लागेको छ। नेपाली संस्कार, संस्कृति, पन र मनलाई जोड्न रंगहरुको पर्व होली आर्टेसिया पार्कमा १७ मार्चको दिउसो १२ बजेदेखि ४ बजे सम्म मनाउन लागिएको अध्यक्ष दिनेश शाहले बताए । विगत वर्षहरूमा अमेरिकाको लसएन्जल्स, सान फ्रान्सिस्को, न्यु योर्क, भर्जिनिया, टेक्सस, कोलोराडो लगायतका सहरहरूमा बस्ने नेपालीले यो पर्वलाई उल्लासका साथ मनाएका छन् ।
नेपालीहरूको विदेशीने बढ्दो क्रमसँगै नेपाली चाडबाड र पर्वहरू विश्वभर मनाउन थालिएको छ । नेपाल,भारत, भुटान, श्रीलङ्का बङ्गलादेश, इन्डोनएशियामा फाल्गुण पूर्णिमाको दिन मनाइने फागु पर्वलाई वसन्त ऋतुको स्वागत गर्ने चाडको रूपमा मनाउने प्रचलन सदियौं पुरानो हो । अहिले भारतमा ‘होली’ पर्वका रूपमा यो प्रख्यात भएको छ । त्यही प्रभावबाट हिजो आज नेपालीहरूले पनि होली नै भन्न थालेका छन् । यस पर्वमा मानिसहरू आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्न विभिन्न रङहरूको प्रयोग गरेर हर्षोल्लासपूर्वक मनाउने प्रचलन छ ।
हिन्दु संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व सुरु भएको किंवदन्ती छ ।


२४ माघ २०७५, बिहीबार १५:२७ मा प्रकाशित