वर्षाले डिपिएलको खेल तालिका प्रभावित, दुई दिन खेल सर्याे 

दूरबिन नेपाल     २५ माघ २०७५, शुक्रबार १५:११    

Anil Baral Real Estate

धनगढी ।  शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष सुभाष शाहीले बताउनुभयो । सोमबार पहिलो डिपिएल खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ । प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

डिपिएलका सद्भावना राजदूतमा नियुक्त दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स र डिसिएका अध्यक्ष शाहीले आज संयुक्त रुपमा उक्त ट्रफी सार्वजनिक गर्नुभएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा बालविवाहविरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको छ । सहभागी टोलीका कप्तान खेलाडी मालिकले बालविवाहविरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन् ।

प्रतियोगिताको विजेताले रु ३० लाख पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले रु १२ लाख, तेस्रो हुनेले रु चार लाख र चौथो हुने टोलीले रु दुई लाख पुरस्कार पाउने जनाइएको छ । प्रतियोगिताको ‘गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर’ले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक ‘म्यान अफ दी म्याच’लाई रु १५ हजार, ‘म्यान अफ दी सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’लाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन अवसरमा एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक–एक लाख प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

रासस


२५ माघ २०७५, शुक्रबार १५:११ मा प्रकाशित