अमेरिकामा अर्बपतिहरु खोज्दै राजदूत डा.कार्की लस एन्जलसमा तत्काल कन्सुलेट अफिस नखुल्ने

दूरबिन नेपाल     २ फाल्गुन २०७५, बिहीबार १६:५२    

Anil Baral Real Estate

अमेरिका, लस एन्जलस १४ फेब्रुअरी/ नेपालमा निकट भविष्यमा हुन् गइरहेको दाता सम्मेलनमा भाग लिन सक्ने अर्बपतिहरुसंग छलफलको लागि लस एन्जलस आएका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसँग यस क्षेत्रमा रहेको नेपाली समुदायबिच हिजो एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो । न्युयोर्कमा सम्भावित दाताहरूसँग छलफल गर्दा केही अर्बपतिहरु सम्मेलनमा जान इच्छुक भएको हुँदा नेपाल सरकारलाई पत्राचार गर्न अनुरोध समेत गरिसकेको राजदूत डा. कार्कीले बताए । मे ७, २०१९ मा आफ्नो चार बर्से कार्यकाल सकिन लागेको हुँदा सार्वजनिकरुपमा सम्भवतः यो कार्यक्रम नै अन्तिम हुनसक्ने उनले बताए ।

अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालले राजदूत लस एन्जलस आएको समयमा नेपाली समुदायसँग छोटो अन्तरक्रिया कार्यक्रम गराउन पहल गरेका थिए । अमेरिकामा प्रोफेसर, डाक्टर, इन्जिनियर, कला, आइटी, व्यवसायलगायत क्षेत्रमा प्रभाव जमाएका व्यक्तिहरूको सो समारोहमा उपस्थिति रहेको थियो । परिचयको क्रममा आफूहरूले हासिल गरेको ज्ञान, सिप होस् वा आर्थिक रूपले नेपालमा सहयोग गर्नको लागि आफूहरू तयार रहेको बताएका थिए ।
हरेक नेपाली बसोबास गर्ने देशको लागि स्थाई दूत

चार बर्से कार्यकाल रहने राजदूत अवधि समाप्ति पश्चात् नेपाल फर्केर जाने हुँदा हरेक नेपाली आफू बसोबास गर्ने देशको लागि स्थाई दूत भएको राजदूत डा. कार्कीले बताए । उनले नेपालीहरूलाई सबैले मान्ने तर आफूहरूबिच मिलेर बस्न नसक्ने स्वभावमा परिवर्तन ल्याउनुपर्ने, नेपाली भन्नासाथ अन्य समुदायमा राम्रा असल मानिस भन्ने पहिचान भएको हुँदा यसलाई एकआपसमा समेत कायम गर्नु पर्ने बताए । आफू नेपालमा चलेको परिपाटी र नेताको विरोध गर्ने तर सोही शैली आफूले प्रवासमा बसेर देखाउँदा कसरी नेताले तपाईँहरूको कुरा सुन्दछन् भन्दै नेपालीहरूबिच प्रवासमा हुने असमझदारी हटाउन अनुरोध गरे

लस एन्जलसमा कन्सुलेट अफिस खोल्ने निर्णय भएको छैन
मे २०१७ मा तत्कालीन परराष्ट्र मन्त्री प्रकाश शरण महतको पालामा लसएन्जलसमा कन्सुलेट अफिसको स्थापना गर्ने निर्णय भएको सम्बन्धमा राखिएको प्रश्नमा राजदूत डा. कार्कीले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए । यो निर्णय गर्नको लागि दूतावासले सिफारिस गरेपश्चात् नेपालमा निर्णय भई आउन केही वर्ष सम्म लाग्न सक्छ, दूतावासमा यो प्रकारको निर्णय भएको जानकारी नेपाल सरकारबाट हालसम्म प्राप्त नभएको उनले बताए । राजदूत डा. कार्कीको भनाईपश्चात अमेरिकाको पश्चिम भागमा स्थाई कन्सुलेट अफिस खुल्छ भनी आस गरी बसेका नेपालीलाई भने निराश पारेको छ। लस एन्जलसमा कन्सुलेट कार्यालय खुल्न लाग्यो भनेर बधाई दिने र कसको पहलमा भयो भनी जस लिने एक पटक होड नै चलेको थियो ।

पासपोर्ट र अधिकृत वारेसनामा सेवा अमेरिकाको अन्य सहरमा गर्न असजिलो
अमेरिका एउटा देश नभएर महादेश हो, पासपोर्ट र अधिकृत वारेश बनाउन वासिङ्टन डी.सी. नै जानुपर्ने बाध्यताले गर्दा नेपालीहरूले दुख पाएका छन् भन्ने प्रश्नको उत्तरमा राजदूत डा. कार्कीले पासपोर्टको लाइभ इन्रोलमेन्ट गर्ने व्यवस्थाले गर्दा यो सहज नभएको जानकारी गराए । उनले अगाडी थपे अहिले अमेरिकामा पासपोर्ट फाराम भर्नासाथ नेपालमा जानकारी जाने र पासपोर्ट चाँडो प्रिन्ट भएर अमेरिका आउने हुन्छ, पासपोर्ट जस्तो संवेदनशील कागज यथेष्ट रूपमा प्रमाणीकरण गरेर दिनुपर्ने, वाशिंगटन बाहिर जाँदा मेसिन र प्राविधिक समेत साथमा लैजानुपर्ने बाध्यताले गर्दा यसमा कठिनाइ हुने बताए ।

हस्तलिखित पासपोर्ट छ भने मात्र दूतावास जानुपर्ने, तर मेसिन रिडेबल पासपोर्ट छ भने फाराम भरेर पठाई नवीकरण गर्न सकिने जानकारी उनले दिए । कतिपय अवस्थामा तीन-चार सय सेवाग्राही छन् भनेर मेसिन सहित सेवा पुर्‍याउन जाँदा दुई-चार जनाको मात्र आवेदन प्राप्त भएको समेत उनले बताए ।

अधिकृत वारेशनामा बनाउनको लागि नेपालको कानुनमा नै राजदूतले मात्र सनाखत गरी प्रमाणित गर्न सक्ने व्यवस्था भएको कारणले गर्दा अमेरिकाको विभिन्न ठाउँमा गएर गर्न कठिन रहेको जानकारी दिए । राजदूत सम्बन्धित देश बाहिर गएको समयमा कार्यवाहक दिएको अवस्थामा अर्को व्यक्तिले गर्न मिल्ने तर सोही देशमा रहेको अवस्थामा राजदूतले नै प्रमाणित गर्नुपर्ने कानुनी बाध्यता भएकोले यो अधिकार राजदूत बाहेक दूतावासका अन्य कर्मचारीलाई समेत दिन मिल्ने व्यवस्था कानुनमा गर्नको लागि नेपाल सरकार समक्ष आफूले अनुरोध गरेको उनले बताए ।

कार्यकालको समीक्षा
चार बर्से कार्यकालमा नेपालमा पाँच प्रधानमन्त्री परिवर्तन हुनु, देश सङ्क्रमणकालीन अवस्थामा रहेको कारण धेरै काम गर्न नसकेको राजदूत डा. कार्कीले बताए । आफ्नो कार्यकालको विशेष उपलब्धिको रूपमा नेपालको इतिहासमा एकैसाथ पाँच सय मिलियन डलर ( करिब पचपन्न अरब नेपाली रुपैयाँ) अनुदान सहयोग अमेरिकाबाट पाउनु र अमेरिका आउने ७७ नेपालमा भएका उत्पादनमा भन्सार छुट हुनु रहेको बताए । अमेरिकाले नियममा संसोधन गर्दै एउटा देशलाई मात्र यो सुबिधा दिएको पहिलो पटक भएको उनले बताए । अमेरिकाले दिएको भन्सार छुटको सुविधा उपयोग गर्दै नेपालमा उत्पादित बस्तु अमेरिका आयात गर्दै व्यापार गर्न उनले अनुरोध गरे ।


२ फाल्गुन २०७५, बिहीबार १६:५२ मा प्रकाशित