एयरपोर्ट काण्डमा बोल्यो एनआरएन , स्वदेश फर्कने नेपालीमाथि गरिएको व्यवहार प्रति आपत्ति

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई सास्ती दिइएको भन्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले आपत्ति जनाएको छ ।
विदेशबाट घर फर्कंदा व्यक्तिगत प्रयोजनको लागि लगिएका उपहार तथा जिन्सीजन्य सामानहरु जफत गरिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै परिषदले प्रेस विज्ञप्ति जारी गर्दै, रगत पसिना बगाई कमाएर स्वदेश ल्याएको सामान जफत गर्दा आर्थिक नोक्सानीमात्र नभै भावनामा समेत ठेस पुगेको जनाएको छ ।
विमानस्थलको यस्तो कार्यले रेमिट्यान्स मार्फत मुलुकको आर्थिक विकासमा योगदान दिइरहेका नेपालीहरुमा त्यहां कार्यरत कर्मचारीहरुप्रतिमात्र होइन सरकारप्रति समेत नकारात्मक धारणा पैदा गरेको परिषदको विज्ञप्तिमा उल्लेख छ । विमानस्थलको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनुपर्ने तथा तोकिएको भन्दा धेरै सामान ल्याएमा सहज रुपमा भन्सार तिरेर लैजाने व्यवस्था गरिदिन पनि परिषदले अनुरोध गरेको छ ।
विदेशबाट स्वदेश फर्कने नेपालीहरुले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सास्ती बेहोर्नु परेको सम्बन्धमा दुरबिन नेपालले लागातार समाचार प्रकाशित गर्दै आइरहेको छ ।
३ फाल्गुन २०७५, शुक्रबार ०३:१० मा प्रकाशित