अमेरिकामा रहेको शेर्पा समुदाय पनि विवादित, शपथ ग्रहण नहुँदै दिए दुई सदस्यले राजीनामा

दूरबिन नेपाल     ३ फाल्गुन २०७५, शुक्रबार ०६:४५    

Anil Baral Real Estate

न्यु योर्क ।

अमेरिकामा रहेका नेपाली समुदायमा सबै भन्दा सङ्गठित र बलियो मानिएको शेर्पा समुदायमा पनि विवादको बाछिटाले छोएको छ । शेर्पा किदुग अमेरिकाको हालै सम्पन्न निर्वाचन प्रति असहमति जनाउँदै, शपथ ग्रहण अगाडि नै दुई जना सदस्यले राजीनामा दिएका छन् ।

अमेरिकामा सयौँको सङ्ख्यामा नेपालीहरूको सङ्गठन छन् । राजनीतिक दलको भातृ सङ्गठन देखि जातिवादी र क्षेत्रीय संस्था क्रियाशील छन् । कतिपय एउटै जातिको तीन – तीन वटा सम्म संस्था सम्म छन् । नेपालीहरूको संस्था कुनै न कुनै रूपमा विवादित बन्दै गर्दा शेर्पा किदुग भने अपवाद रहँदै आएको थियो । आर्थिक रुपमा सबल, सङ्गठित र अनुशासित संस्थामा शेर्पा किदुग उदारणिय नै बनेको थियो । संस्थामा आउने सामान्य मतभेद आपसमा नै सल्टाउने गरेका थिए । जसका कारण सरकारी निकायले पनि शेर्पा किदुगलाई अन्य नेपाली संस्था भन्दा बढी महत्त्व दिँदै आएको छ ।

अन्य समुदाय सामुदायिक भवनको जोहोमा वर्षों देखि लागि रहँदै गर्दा शेर्पा किदुगले भने ज्याक्सन हाईटको अति व्यस्त क्षेत्रमा गुम्बा नै स्थापना गरेको छ । तर यस पटक नयाँ कार्यसमिति चयन विवादित बन्यो । कार्यसमिति चयन प्रति अशनतुष्टि जनाउँदै शपथ ग्रहणको अधिल्लो दिन दुई जनाले राजीनामा दिएका छन् । नव निर्वाचित कार्यसमितिको शुक्रवार साँझ शपथ ग्रहण कार्यक्रम राखिएको छ । शेर्पा किदुगका एक सदस्यका अनुसार फेब्रुअरी दुई तारिकका दिन भएको अधिवेशन आर्थिक विषयलाई लिएर तनावपूर्ण बनेको थियो । हरहिसाव पारदर्शी नभएको तथा आर्थिक प्रतिवेदन साधारण सभाबाट पारित नै नगराई ट्याक्स फाइल गरेको भन्दै अधिवेशनका सहभागीले विरोध गरेका थिए । सहभगिको चर्को विरोधलाई साम्य पार्न हम्मे हम्मे परेको थियो ।

यस्तै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले पुन अर्को कार्यकालका लागि उम्मेदवारी दिए पछि १८ जनाले विभिन्न आरोप सहित दावीबिरोध समेत पेस गरेका थिए। सो विषयमा लामो छलफल भएको थियो। नयाँ समितिको अध्यक्षका लागि सचिव तेम्बा शेर्पाले पनि दावेदारी दिएका थिए । तेम्बाका अनुसार उर्गेनले यस अघि अब आफू अध्यक्षमा नदोहोरिने र तेम्बालाई नै सहयोग गर्ने बचन दिएका थिए । उर्गेनले आफ्नो बचन तोडेको भन्दै सदस्यमा निर्वाचित इन्जिनियर तेम्बा शेर्पा र ओभरसियर जाङ्बु शेर्पाले राजीनामा दिएका हुन् ।

निवर्तमान महासचिव आङजांबु शेर्पा भन्छन् “पहिला सहमतिमा नै हुन्थ्यो । चुनावी प्रतिस्पर्धाले ठुलो मतभेद बढ्यो । उर्गेन जी पुन उठेपछि समस्या भयो । साथीहरूले राजीनामा दिनु भएछ । यो संस्थाका लागि राम्रो भएन”

ठुला दाता मध्येका एक ओभरसियर जांवु शेर्पाले राजीनामा दिएको कुरालाई स्वीकार गरेका छन् । दूरबिन नेपालसँगको छोटो कुराकानीमा जांबु शेर्पाले भने “हो मैले राजीनामा दिए । तपाइहरूले बाहिर सुनेका कुरा सही नै छ । तर म राजीनामाको कारण बारेमा थप बोल्न चाहन्न ।”
याङचेन डोल्मा शेर्पा पनि शपथ निलिने सम्भावना छ । ‘गुम्बा किदुङ भित्र राजनीति भइरहेको र यसले आफूलाई घृणा जागेको’ उल्लेख गर्दै शुक्रवारको शपथमा भाग नलिने जानकारी गराइसकेकी छन् ।

शेर्पा किदुगको विधान अनुसार अधिवेशनबाट सुरुमा ११ जना सदस्य निर्वाचित हुन्छन् । सोही ११ जना सदस्य मध्येबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायत पदहरू चुन्ने गर्दछ। कार्यसमितिका लागि ११ जनानै निर्विरोध भएका थिए । यस अधि शेर्पा किदुगको चुनाव खासै प्रतिस्पर्धा नहुने हुनाले कार्य समितिमा बसी दिनुस् भन्दै मान्छे खोज्नु पर्ने अवस्था थियो ।

फाेटाे : शेर्पा एशाेशियशनकाे फेशबुकबाट 


३ फाल्गुन २०७५, शुक्रबार ०६:४५ मा प्रकाशित