गुटगत लडाइले सानफ्रानसिस्कोमा दुई संस्था फुटको संघारमा एनसीसीका दाताहरू तीन समूहमा भिड्दै

दूरबिन नेपाल     २२ फाल्गुन २०७५, बुधबार १७:२४    

Anil Baral Real Estate

सानफ्रानसिस्को ।

राजनीतिक, आर्थिक र व्यक्तिगत स्वार्थको त्रिकोणात्मक द्वन्दले सानफ्रानसिस्को बे एरियामा रहेका नेपालीहरूको पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र त्यसैसँग जोडिएको नेपाली सामुदायिक भवन निर्माण समिति (एन सी सी) यति बेला फुटको संघारमा पुगेका छन् । एन सी सीका अध्यक्ष उत्तम कार्की र न्यान्सका महासचिव प्रितेश कार्कीले विवाद र असहमति हल गर्न निर्वाचन प्रक्रिया स्थगित गरेको सूचना सार्वजनिक गरे पनि विवादास्पद निर्वाचन समितिका संयोजक रविन्द्र राईले प्रक्रिया रोक्न नमान्दा दुवै संस्था फुटेको नजिक पुगेका हुन् ।

११ जना दाताहरूले दर्ता गरेको मनोनयको आधारमा एन सी सीको नेतृत्व चयन प्रक्रिया टुंगिएको विबादास्पद निर्वाचन समिति संयोजक राईले केही समयमा सार्वजनिक गर्दै छन् । त्यसलाई न्यान्सको सचिवालय र एनसीसीको नेतृत्वले पहिला नै अवैध घोषणा गरिसकेको छ । कुनै पनि गैह्र नाफा मूलक संस्थामा दाता र आम सदस्यलाई दान र सहयोग राशिको आधारमा भेदभाव गरेर मतदान र निर्वाचनमा सहभागी हुनबाट रोक्न पाइँदैन । तर राई नेतृत्वको निर्वाचन समितिले एनसीसीमा एक हजार डलर भन्दा कम दान दिनेलाई मताधिकार वन्देज गरेको छ । उम्मेदवारी प्रक्रियामा पनि त्यस्तै मापदण्ड अपनाइएको छ । यो विभेद अमेरिकाको गैह्र नाफामूलक संस्था सञ्चालन र निर्वाचनको प्रचलित कानुन विपरीत हुन्छ । समाचार स्रोतका अनुसार राईको गलत कदम विरुद्ध केही व्यक्तिहरू अदातलत जाने तयारी गरिरहेका छन् । यसबाट राईलाई मात्र नभई संस्थालाई समेत नोक्सान पुग्ने छ ।

एनसीसीलाई न्यान्सबाट तत्कालन अलग गर्नु पर्छ भन्ने दाताहरूको समूहले विवादको बिचमा एनसीसीको आगामी कार्यसमितिका लागि मनोनयन दर्ता गरेका छन् । अध्यक्षमा बे एरियाका व्यवसायी यज्ञलाल श्रेष्ठ , महासचिवमा बालकृष्ण आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै अरू पदका लागि दिक्पाल के सी, राजेश थापा, रविसिंह बस्नेत, अनिल पाण्डे, सुरज पाख्रिन, सुजित सिंह, ध्रुव बस्याल, नारायण सोमनामे, हरिप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका दाबेदार यज्ञलाल श्रेष्ठले यस अघिका सार्वजनिक भेलामा नै न्यान्सबाट एनसीसीलाई तत्काल अलग गरेर छुट्टै रूपमा संस्था अगाडि बढेपछि मात्र आफूले कबुल गरेको रकम दाखिला गर्ने बताएका थिए । यसबाट प्रस्ट हुन्छ , एनसीसी अव न्यान्सको माताहातमा रहने छैन । यो समूहको हातमा एनसीसीका लागि कबुल गरेको कुल रकमको करिब ३० प्रतिशत रकम रहेको छ । यसलाई तत्काल नजरअन्दाज गर्न सक्ने सम्भावना छैन ।

एनसीसीमा तीन प्रकारका दाताहरूको समूह आपसमा भिडिरहेका छन् । एनसीसीलाई कुनै पनि परिस्थितिमा न्यान्सबाट अलग हुनु दिनु हुन्न भन्ने संस्थापक गोविन्द शाही लगायतको समूह एनसीसीको नेतृत्व र कार्यसमिति आफ्नो अधीनमा लिन छलफल सुरु गरेको थियो । यो कुराको भेउ पाएपछि न्यान्सबाट एनसीसीलाई अगल राख्नु पर्छ भन्ने समूहले श्रेष्ठको नेतृत्वमा मनोनयन दर्ता गरेको हो ।

न्यान्सबाट सबै काम अगाडि बढाएर सामुदायिक भवन निर्माण गरिसेकपछि मात्र सबैलाई मिलाएर र चित्त बुझाएर अलग गर्नु राम्रो हुन्छ भन्ने दाताहरूको समूह भने अहिले कमजोर देखिएको छ । यो भन्दा चर्को अन्तरद्वन्दमा रहेको न्यान्स पनि फुट्ने सम्भावना बढेर गएको छ । परिस्थितिलाई साम्य बनाएर निर्वाचनको काम केही मसय पछाडि अगाडि बढाउन बे एरियाका थुप्रै दाता र अगुवाहरूले न्यान्सका अध्यक्ष रविन्द्र राईलाई आग्रह गरेका छन् । तर स्वार्थ बाझिने गरी निर्वाचन समितिमा बसेका राई कै कारण संस्था थप समस्या ग्रस्त बनेको छ । अमेरिकाको प्रचलित कानुन विपरीत संस्थाको निर्वाचनमा सदस्यहरूका बिच विभेद सिर्जना गरी सहभागिता प्रक्रिया नै गलत ढङ्गले अगाडि बढाएर राईले गैह्र नाफमुलक संस्था सञ्चालनमा आफू अयोग्य र असक्षम रहेको साबित गरेका छन् ।


२२ फाल्गुन २०७५, बुधबार १७:२४ मा प्रकाशित