अमेरिकामा मन्त्री आउने कार्यक्रममा यसपटक राष्ट्रपति भण्डारी सहभागि हुँदै

दूरबिन नेपाल     २३ फाल्गुन २०७५, बिहीबार १३:०४    

Anil Baral Real Estate

दूरबिन नेपाल सम्वाददाता

न्युयोर्क । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिकाको न्यु योर्क आउदैछिन् । संयुक्त राष्ट्र संघको महिला नियोगको आयोजनामा हुने ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६३ औ सेससनमा भाग लिन  भण्डारी अमेरिका आउन लागेकी हुन् ।

यस्तो सेसनमा यस अघि नेपालबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्री स्तरमा सहभागिता रहँदै आएको थियो । यस पटक पनि अधिकांश मुलुकका महिला मन्त्रालय हेर्ने मन्त्रीले नै सेसनमा भाग लिँदै छन् ।

नेपालबाट अहिले सम्म महिला, बालबालिका तथा समाज कल्याण मन्त्री, सोही मन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ हेर्ने डेक्सका प्रमुख वा अन्य अधिकारीले भाग लिने गरेका थिए ।

महिलाहरूको लागि ऐतिहासिक महिना मार्चमा संयुक्त राष्ट्र संघले हरेक वर्ष विशेष कार्यक्रम गर्ने गर्दछ । विभिन्न विषयहरूमा फोरम पनि सञ्चालन गर्ने गरिन्छ । मन्त्री स्तरमा भाग लिए पनि हुने कार्यक्रममा राष्ट्र प्रमुख नै आउनुलाई ‘घुम्ने रहर’ को रूपमा हेरिएको छ ।  राष्ट्रपतिको नेतृत्वमा अमेरिका आउने टोलीमा २२ जना रहने छन् । ती सबैको खर्च सरकारले ब्यहोर्ने गर्दछ । राष्ट्रपतिलाई न्युयोर्कको हायत होटेलमा राख्ने तयारी गरिएको छ ।

राष्ट्रपति भण्डारीले १२ तारिकमा ‘वुमेन इमपावर’ सेसनमा सम्बोधन गर्ने भनिएको छ । तर यो समाचार तयार पार्दा सम्म  कार्यक्रम तालिकामा राष्ट्रपतिको भण्डारीको नाम छैन । यस्तै सेसन पछि राष्ट्रपतिका भण्डारीका अन्य कार्यक्रम के के हुने भन्ने बारेमा पनि उल्लेख गरिएको छैन ।

 

न्युयोर्कमा रहेका नेपाली समुदायसँग राष्ट्रपतिको कस्तो कार्यक्रम हुने भनेर अहिले सम्म अमेरिका स्थित नेपाली दूतावास, न्युयोर्कमा रहेको महाबाणिज्यदूतावास र संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगले औपचारिक जानकारी दिएको छैन । राष्ट्रपतिको अस्वाभाविक र एक्कासि भएको भ्रमणका कारण पनि के कसरी कार्यक्रम तय गर्ने भन्नेमा कर्मचारी नै अन्योलमा देखिन्छन् ।

संयुक्त राष्ट्र संघका  लागि नेपाली नायव स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले यस पटक राष्ट्रप्रमुख वा सरकार प्रमुखमा महिला पुगेका देशबाट राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई नै निमन्त्रण गरिएको दाबी गरे । तर काफ्लेको भनाइ दक्षिण एशियाका अन्य मुलुकमा लागु भएको देखिँदैन । अहिले सम्म दक्षिण एशियाबाट महिला सम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री वा सचिवको सहभागिता हुने जनाइएको छ । दक्षिण एशियामा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना छिन । उनी यो सेसनमा भाग लिन नआउने जनाइएको छ ।

नायव स्थायी प्रतिनिधि काफ्लेका अनुसार  स्टोनिया, लिथोक्यिा, आइसल्याण्ड, क्रोसियाका राष्ट्रपतिले यो सभामा भाग लिने भएका छन् । काफ्ले भन्छन् ”महासभाको अध्यक्षता गर्ने मारिया गर्सेस महिला भएकोले यो पटक वुमेन इमपावर बारेमा छलफल गर्न विशेष कार्यक्रम राखिएकाले नेपालबाट राष्ट्रपति नै आउने कार्यक्रम तय भएको हो ।” उनले विशेष गरी युरोपियन मुलुक र समकक्षी सहभागी हुने मुलुकसँग साइड भिजिटका लागि प्रयास भइरहेको बताए ।


२३ फाल्गुन २०७५, बिहीबार १३:०४ मा प्रकाशित